फिल्म 'बिगुल' को टिजर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक टिजरमा राजनीति, देश प्रेम, सम्बन्ध–जिम्मेवारी, आन्दोलन, विद्रोह लगायतका विषयवस्तु समेटिएको छ। टिजर हेर्दा फिल्म सामाजिक-राजनीतिक विषयवस्तुमा बनेको देखिन्छ।
वर्तमान समयको असन्तुष्टि, युवाहरूको विद्रोह र न्यायको खोजीलाई पर्दामा उतार्ने प्रयास गरिएको अनुमान गर्न सकिन्छ। जेनजी आन्दोलनपछि निर्वाचनतर्फ अघि बढिरहेको देशको राजनीतिक घटनाक्रमको झल्को टिजरले दिन्छ।
रमेश कोइरालाको निर्देशनमा बनेको 'बिगुल' को कथाकार र निर्माता दिनेश कोइराला हुन्। फिल्ममा बेनिशा हमाल, नरेन खड्का, बिनोद न्यौपाने, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ।
'फिल्मलाई मनोरञ्जनका साथमा विचारका रूपमा पनि हेर्नुपर्छ भन्ने सोचले ‘बिगुल’ बनाएका हौं,' निर्देशक रमेश कोइराला भन्छन्, 'हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन फिल्मले भूमिका खेल्न सक्छ।'
म्याग्नोलिया ग्रुपको ब्यानर, कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा तथा संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा 'किम्भे' ले गरेका हुन्।
सूर्यकान्त कोइराला र महेश कोइराला सह-निर्माता रहेको फिल्मको वितरण काफिया फिल्मस् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन्। 'बिगुल' माघ ९ गतेदेखि प्रदर्शनमा आउनेछ।