सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको फिल्म 'श्री बुकुरोः द होम कलिङ' को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माताले सोमबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने घोषणा गरेका हुन्।
फिल्ममा अभिनय गरेका सम्पूर्ण मुख्य कलाकार समावेश फिल्मको सोमबार सार्वजनिक स्केच पेन्टिङ पोस्टर आर्कषक देखिन्छ। यसले फिल्मप्रति दर्शकको ध्यान खिच्न सफल हुने विश्वास छ। विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क फिल्म 'श्री बुकुरो' का यसअघि सार्वजनिक टिजर तथा पोस्टरले दर्शकको ध्यान तानेका छन्।
यो फिल्मबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले 'माला' र 'रूद्रप्रिया' को निर्देशन गरेका थिए। पछिल्लो समय सामाजिक पारिवारिक फिल्मले दर्शकको मन जितिरहेको अवस्थामा 'श्री बुकुरो' को विशुद्ध पारिवारिक कथालाई दर्शकले रूचाउने विश्वास निर्देशक सिंहको छ।
यो फिल्म अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको उनले बताए। फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मालगायत कलाकारको अभिनय छ। फिल्म रूबी सेन सिंहले निर्माण गरेकी हुन्।
सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा खिचिएको हो।
फिल्मको गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिनेछ।