हरिवंश आचार्य अभिनीत फिल्म 'भूठान' चर्चित ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा रिलिज भएको छ।
गत जनवरी ९ देखि अमेजनले आधिकारिकरूपमा भूठानको अंग्रेजी नाम 'द वल्र्ड्स ह्यापिएस्ट म्यान' नामबाट हालको लागि उत्तर अमेरिका क्षेत्रमा रिलिज गरेको फिल्मका निर्माता अविरल थापाले बताए।
विस्तारै फिल्म संसारभरका अन्य क्षेत्र र प्लेटफर्मबाट पनि हेर्न सकिनेगरी उपलब्ध गराउने तयारी भइरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताए।
गत बैशाखमा नेपालमा रिलिज भएको यस फिल्म 'भूठान-द वल्र्ड्स ह्यापिएस्ट म्यान' मा भूटानबाट अमेरिका पुगेका भूटानी शरणार्थीको कथा छ। फिल्मले वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयासलाई केन्द्रमा राख्छ। जन्मभूमिमा जीवनका जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नुपर्दाको उकुसमुकुस, भौतिक सुख–सुविधा प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभावलाई फिल्मले संवेदनशील रूपमा प्रस्तुत गरेको छ।
फिल्मको मुख्य भूमिकामा वरिष्ठ अभिनेता हरिवंश आचार्य छन्। साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतको अभिनय छ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन्। विनोद पौडेलको निर्देशन रहेको 'भूठान' का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन्।
यो पनिः भूठान– माटो र मुटुसँग टाढिएका हरेक मान्छेको अनुभूति