प्रदर्शन तयारीमा रहेको फिल्म 'रमिताको पिरती' को ट्रेलर सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलर मुख्य कलाकार आना शर्माको वरीपरि घुम्छ।
उनको पात्र प्रेममा परेको, खुसी भएको अनि विस्तारै अन्तर्मुखी र पीडित बन्दै गएको ट्रेलरमा देखिन्छ। यसले आना अर्थात रमिता बाहिरभन्दा भित्र धेरै संघर्ष गरिरहेकी छिन् भन्ने संकेत दिन्छ।
समग्रमा भन्दा फिल्मले प्रेम, विछोड र युवतीको भित्री भावनात्मक संघर्षको कथा भन्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ। फिल्ममा आनासहित अभिनेताहरू धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य अभिनय छ।
लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्ममार्फत अभिनय यात्रा आरम्भ गर्दै मुख्य भूमिकामा डेब्यु गरेका हुन्। अभिनेता धिरज पनि फरक अवतारमा देखिएका छन्।
फिल्ममा जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको समेत अभिनय छ। सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्मको लेखन तथा निर्देशन सुदीप्ताले गरेकी हुन्।
निर्मातामा सागर लम्सार छन् भने कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुन्।
सुभाष कोइराला सह-निर्माता रहेको फिल्मको एसोसियट निर्मातामा गणेश पाण्डे र प्रवेश लामिछाने छन्।
'रमिताको पिरती' माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यसलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।