मनोवैज्ञानिक थ्रिलर फिल्म 'द ब्लु लाइट' माघ १६ गते (यही शुक्रबार)देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ।
फिल्ममा बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुष्मान देशराज जोशीको मुख्य भूमिका छ। फिल्मलाई लिएर कलाकारहरू पनि उत्साहित छन्।
अभिनेत्री बेनिशा भन्छिन्, 'अहिले हामीले हेरिरहेका फिल्मभन्दा केही फरक छ। त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्त छ।'
फिल्मको कन्टेन्ट र प्रस्तुति मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारेकी छन्। बेनिशा 'द ब्लु लाइट' को कार्यकारी निर्माता समेत हुन्। फिल्मको विषय र प्रस्तुति मुख्य आकर्षण भएको उनले बताएकी छन्।
यस्तै, अभिनेत्री सृष्टि श्रेष्ठ यस फिल्ममा 'नेगेटिभ' भूमिकामा देखिँदै छिन्। उनले यसअघि पनि थ्रिलर फिल्ममा काम गरेकी थिइन्, तर 'द ब्लु लाइट' मा आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको सृष्टि बताउँछिन्।
'मेरो भूमिका अलि 'एन्टागोनिस्ट' (खलपात्र) प्रकृतिको छ। मलाई यस्तै थ्रिलर जनराका फिल्महरूमा रूचाइएको छ, तर 'द ब्लु लाइट' को भूमिका र कथा एकदमै गहिरो र फरक छ', उनले भनिन्।
सृष्टिले अगाडि भनिन्, 'एक कलाकारका रूपमा सधैं राम्रो र सकारात्मक देखिनुभन्दा पनि यस्ता जटिल र नकारात्मक चरित्र निर्वाह गर्दा धेरै कुरा सिक्न पाइन्छ। निर्देशकको सोच र कथाको गहिराइले गर्दा म यो भूमिकाप्रति आकर्षित भएँ। यो मेरो करिअरकै अहिलेसम्मकै फरक भूमिका हो।'
अभिनेता अर्पण थापाले 'द ब्लु लाइट' जस्तो फिल्म कमै मात्र बन्ने बताएका छन्। उनले भने, 'फिल्म त धेरै बन्छन्। तर द ब्लु लाइट जस्तो फिल्म हम्मेसी बन्दैन। यस्तो फिल्म बन्न बलिराम चौहान जस्ता निर्देशक नै चाहिन्छ।'
फिल्मका केही सिन र त्यसको प्रस्तुतिको उनले तारिफ गरेका हुन्। 'फिल्म हेरेपछि दर्शकले धेरै कुरा थाहा पाउनुहुन्छ', अर्पण भन्छन्।
अर्पण भर्सटाइल अभिनेता हुनुका साथै आफैं निर्देशक र लेखक पनि हुन्। गम्भीर अभिनयका लागि चिनिएका उनले फिल्ममा पात्र निर्माण गर्दा ऐनामा हेरेर आफूलाई ‘ह्यान्डसम’ देख्नु र पर्दामा चरित्रमा ढल्किनु फरक कुरा भएको बताए ।
अर्पण भन्छन्, 'कतिपय अवस्थामा हामी अभिनेताले मात्र पात्र बनाएको जस्तो ठान्छौं। तर वास्तवमा एउटा चरित्र निर्माण हुनका लागि लेखनदेखि निर्देशन र पूरै निर्माण टोलीको उत्तिकै भूमिका हुन्छ। 'द ब्लु लाइट' मा हामीले एउटा यस्तो पात्रलाई प्रस्तुत गरेका छौं, जसको मनोविज्ञानले दर्शकलाई सोच्न बाध्य बनाउनेछ।'
अर्पणले आफू सधैं फरक र चुनौतीपूर्ण चरित्रको खोजीमा रहने र यो फिल्मले आफ्नो त्यो भोक मेटाएको समेत बताए।
फिल्म 'द ब्लु लाइट' मा बेनिशा, श्रृष्टि र अर्पणका साथै आयुष्मान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
फिल्म बलिराम चौहानले निर्देशन गरेका हुन्। यो उनको पहिलो निर्देशन हो।