भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै शुक्रबारदेखि दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
फिल्म 'कुमारी' र 'रमिताको पिरती' फ्राइडे रिलिजको अवसर पारेर एकसाथ प्रदर्शनमा आएका हुन्। यी फिल्मले प्रेम र भावनाको फरक–फरक आयाम प्रस्तुत गर्छन्।
दिनेश राउत निर्देशित 'कुमारी' ले दुई युवा हृदयहरूलाई नियतिले कसरी एकआपसमा जोड्छ भन्ने कोमल प्रेमकथा भन्छ। प्रेम, भावना र जीवनका चुनौतीबीच पनि मनको आवाज सुन्ने साहसको कथा यसले प्रस्तुत गर्छ।
फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिएका छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्कीलगायतको समेत अभिनय छ।
१२७ मिनेट लामो 'कुमारी' लाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी 'यू' प्रमाणपत्र दिइएको छ। यसको निर्माता महेन्द्र अधिकारी हुन्।
त्यस्तै, सुदीप्ता निर्देशित 'रमिताको पिरती' ले आधुनिक प्रेम सम्बन्ध, ब्रेकअपपछिको मानसिक अवस्था र आत्मपहिचानको खोजलाई केन्द्रमा राखेको छ। २६ वर्षीया रमिताको जीवनमा आउने उतार-चढाव, अस्थायी सम्बन्धहरू र त्यसले उनको पहिचानमा पार्ने असरलाई फिल्मले संवेदनशील रूपमा देखाएको छ।
प्रेममा घाइते भएपछि सहाराको खोजीमा भौंतारिँदा व्यक्ति कसरी आफैंबाट टाढा हुन सक्छ भन्ने कथालाई फिल्मले उजागर गर्छ। यसमा मुख्य भूमिकामा अभिनेत्री आना शर्मा छिन्। साथमा धिराज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको अभिनय छ।
'रमिताको पिरती' लाई 'पीजी' प्रमाणपत्र प्रदान गरिएको छ भने यसको रनटाइम ११५ मिनेट छ। फिल्मको निर्मातामा सागर लम्साल छन्।