मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो 'जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' सम्पन्न भएको छ।
'स्टोरिज् बियोन्ड बोर्डसः ह्वेय कल्चर मिट्स सिनेमा' भन्ने नारासहित फागुन ८ देखि ११ गतेसम्म महोत्सव भएको हो। संवाद फाउन्डेसनद्वारा आयोजित चारदिने महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएका थिए।
महोत्सवको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत तथा सम्मान गरिएको छ। अन्तर्राष्ट्रिय प्यानोरामा अन्तर्गत डेभिड कासाल्स–रोमाको 'कप्स' उत्कृष्ट लघु कथानक चलचित्र घोषित भएको छ भने शेख अल मामुनको 'ड्रेन्ड बाई ड्रिम्स' उत्कृष्ट फिचर कथानक चलचित्र बनेको छ।
त्यसैगरी रोस्ताम नजरिको 'साइद क्यापिलो' उत्कृष्ट लघु वृत्तचित्र, रिंकु शर्माको 'हमार रामलिला' उत्कृष्ट फिचर वृत्तचित्र र बार्तोज जार्जिकीको 'फियर/स्टार्च' उत्कृष्ट एनिमेसन अवार्डबाट सम्मानित भएका छन्।
विद्यार्थी प्यानोरामा 'भ्चाइसेस् अफ टुमोरो' अन्तर्गत काथ्रिन एलिस कोभालेन्कोको 'बिल्ट अन होप' उत्कृष्ट वृत्तचित्र र डानिलो स्तानिमिरोभिचको 'क्याट्स' उत्कृष्ट कथानक चलचित्र घोषित भए। क्षेत्रीय प्यानोरामामा विप्लव विश्वासको 'सकार बकार (रिभर रेड)' उत्कृष्ट लघु चलचित्र बनेको छ भने नेपाली प्यानोरामामा निर्मल पौडेलको ‘निलो आकाश’ उत्कृष्ट लघु कथानक तथा श्रीजन राज पाण्डेको 'मित्क्पा' उत्कृष्ट वृत्तचित्र घोषित भएका छन्।
महोत्सवका संयोजक तथा फाउन्डेसनका अध्यक्ष कुमार भास्करले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार यस महोत्सवले जनकपुरलाई सांस्कृतिक तथा ऐतिहासिक सहरका रूपमा विश्व समुदायसमक्ष चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ। उनले विदेशी चलचित्रकर्मीहरूलाई जनकपुरमा चलचित्र छायांकन गर्न निम्तो दिँदै यहाँको मौलिकता र धार्मिक महत्वलाई विश्व बजारमा पु¥याउन आग्रह गरे।

भास्करले राष्ट्रिय चलचित्र निर्माताहरूलाई पनि ऐतिहासिक स्थल र सांस्कृतिक सम्पदामा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न आह्वान गर्दै सिनेमा नयाँ पुस्तालाई इतिहाससँग जोड्ने प्रभावकारी माध्यम भएको बताए। साथै उनले संघ, प्रदेश र स्थानीय तहका सरकारले जनकपुरमा चलचित्र पर्यटन प्रवद्र्धनका लागि आवश्यक लगानी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
महोत्सव अवधिभर चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया र चलचित्र पर्यटनसम्बन्धी छलफल सत्रहरू सञ्चालन गरिएको थियो।