चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा' को कमाइ १३ करोड रूपैयाँ नजिक पुगेको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले फागुन ३० गते (शनिबार)सम्म १२ करोड ९९ लाख ३ हजार ८२० रूपैयाँ कमाइ गरेको हो।
पल शाह, विपना थापा, प्रदीप रावतलगायत कलाकारहरूको अभिनय रहेको 'आबाट आमा' को ४ लाख ९७ हजार ९६३ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
त्यस्तै, दिनेश राउत निर्देशित फिल्म 'कुमारी' को पछिल्लो शनिबारसम्मको कमाइ ६६ लाख १४ हजार ७५१ रूपैयाँ पुगेको छ। उक्त कमाइ गर्दा फिल्मको २० हजार ७६२ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ। अभिषेक खड्का र आकृति राजभण्डारीको शीर्ष अभिनय रहेको यो फिल्म माघ २३ गते रिलिज भएको थियो।
त्यस्तै, सुदीप्ता निर्देशित फिल्म 'रमितको पिरती' को कमाइ ३० लाख ७० हजार ७५३ रूपैयाँ पुगेको छ। यसको टिकट बिक्री संख्या ९ हजार ९०२ छ। यो फिल्म पनि माघ २३ मै रिलिज भएको थियो। ‘रमितको पिरती’ मा आना शर्मा, धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा छन्।
त्यस्तै, फागुन १५ गते रिलिज फिल्म 'प्रवासी जीवन' को कमाइ १ लाख ४४ हजार २७० रूपैयाँ छ। यसको ५२९ वटा टिकट बिक्री भएको देखिन्छ। श्याम क्षेत्री र राम अधिकारीको निर्देशन रहेको यो फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्रीलगायत कलाकारहरू छन्।
