दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको शीर्ष अभिनय रहेको फिल्म 'मितज्यू' को टिजर सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक दुई मिनेट लामो टिजरले ग्रामीण परिवेशमा आधारित कथा प्रस्तुत गर्ने संकेत दिन्छ।
टिजरमा दयाहाङ राई र सौगात मल्ल एउटी युवतीका कारण विवादमा परेको देखिन्छ।
झगडा बढ्न नदिन उनीहरूलाई ‘मित’ लगाइन्छ, जसले परम्परागत मितेरी साइनोलाई केन्द्रमा राखेको बुझन् सकिन्छ। टिजरमा पुरानो पुस्तामा प्रचलित मितेरी साइनोलाई नयाँ पुस्तासम्म कथा मार्फत प्रस्तुत गर्ने प्रयास गरिएको देखिन्छ।
तेरिया फौजा मगर पनि टिजरमा महत्वपूर्ण भूमिकामा देखिन्छिन्, जसले कथामा प्रेम र द्वन्द्व दुवैलाई अघि बढाउने संकेत दिन्छ। प्रेम, मित्रता र परम्परागत सम्बन्धबीचको द्वन्द्ध, मितेरी संस्कृतिलाई नयाँ पुस्तामाझ प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।
अनिल बुढा मगरको निर्देशनमा बनेको 'मितज्यू' मा दयाहाङ, सौगात र तेरियाका साथमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देललगायत कलाकारको समेत अभिनय छ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। साथमा पुस्कर गुरूङ, सुवर्ण थापा, राज थापा काउछा, अनु थापा, अरूण पुन मगर, स्मिता लामिछाने, पवित्रा खड्का उमेश सुनम, अनुशा राईलगायत कलाकारहरूले समेत अभिनय गरेका छन्।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन्। फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका हुन्।
'मितज्यू' जेठ ८ गतेदेखि प्रदर्शन तयारीमा छ।