छायांकनरत फिल्म 'पाँच पाण्डव' तिहारमा प्रदर्शनमा आउने भएको छ।
तिहारको बिदालाई लक्षित गर्दै फिल्म प्रदर्शनमा आउने भएको हो। फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको निर्माण पक्षले जानकारी दिएको छ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए। उनले भने, 'वितरक टिमसँगको सल्लाहमै प्रदर्शन मिति घोषणा गरेका हौं। राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं।'
फिल्म वितरणको जिम्मा लिएका आरआर फिल्मस्का रोहित कट्टेलले 'पाँच पाण्डव' लाई लिएर आफूहरू उत्साहित रहेको बताए।
उनले भने, 'हामीले फिल्मको कन्टेन्ट र यसमा रहेका कलाकारहरूको बलियो लाइनअप हेरेर नै वितरणको जिम्मा लिएका हौं। तिहार जस्तो ठूलो चार्डमा दर्शकले खोज्ने भनेकै पूर्ण मनोरञ्जन हो, जुन यो फिल्मले दिनेछ विश्वास छ। 'पाँच पाण्डव' व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल हुनेमा हामी विश्वस्त छौं।'
विषयवस्तु, कलाकार, निर्माण टिम र प्राविधिक पक्ष बलियो बनाउने तयारीका कारण यो फिल्म प्रतीक्षित बनेको निर्माण पक्षको दाबी छ।
वसन्त निरौलाको निर्देशनमा बनिरहेको 'पाँच पाण्डव' मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्। दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायतको समेत मुख्य भूमिका रहने छ।
कालीरानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूले एकसाथ काम गरिरहेका छन्।
फिल्म 'पाँच पाण्डव' सामाजिक कथावस्तुमा आधारित रहेको लेखक सुशील पौडेलले बताएका छन्। कथा, पटकथा तथा संवाद पनि सुशील पौडेलकै रहेको छ। उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
फिल्मको निर्मातामा काली रानी श्रेष्ठले छिन्। 'पाँच पाण्डव' श्याम तामाङले खिचिरहेका छन्।