अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म 'काजी' को प्रदर्शन मिति घोषणा गरिएको छ।
आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।
सार्वजनिक प्रिभ्यूमा विवाहपश्चात एक जोडीको प्रेमिल संवादलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। विपिन र केकी जोडीका रूपमा देखिएका छन्।
प्रारम्भिक प्रचार सामाग्रीका रूपमा सार्वजनिक प्रिभ्यूमा मुख्य पात्रहरूको झलक, कथावस्तुको संकेत र आकर्षक दृश्य संयोजन प्रस्तुत गरिएको छ।
फिल्मलाई लिएर अभिनेता विपिन निकै उत्साहित देखिएका छन्। उनका अनुसार काजी क्लासिक लभस्टोरी सिनेमा हो।
रामप्रसाद रिजालको प्रस्तुति रहेको 'काजी' लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, विनोद न्यौपाने, रश्मी भट्ट, आरव बराल, सुपला सापकोटा, दिक्षीता अर्याललगायत कलाकारहरूको अभिनय छ।
रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप भारद्धाजको लेखन छ भने छायांकन चिन्तन राजभण्डारी र सम्पादन विपिन मल्लको छ।
'काजी' को निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकास राज जोशी हुन् भने कार्यकारी निर्मातामा आशिम काफ्ले छन्।