गणेशदेव पाण्डेको निर्देशनमा बनेको फिल्म 'पारी बुटोल' को टिजर युट्युबमा सार्वजनिक भएको छ।
टिजरमा फिल्मका प्रमुख पात्रहरूलाई क्रमशः उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ, जसले फिल्म ग्याङ्स्टर जनरामा निर्माण भएको संकेत गर्छ।
टिजरमा देखिएको कलाकारहरूको अभिनय, महेश पौडेलको छायांकन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र र्यापर भ्योमाको गीतले आकर्षक संयोजन प्रस्तुत गरेको छ।
लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल ग्याङ्स्टर फिल्म मात्र नभई युवाहरू, उनीहरूको परिवार, जीवनका संघर्ष तथा सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेललाई सामान्य बनाउने प्रयासको कथा हो।
बुटवलका वास्तविक स्थानहरूमा छायांकन गरिएको फिल्मले त्यहाँको मौलिक परिवेश समेट्दै दर्शकलाई स्थानीय र यथार्थपरक अनुभूति दिने निर्माण टिमको विश्वास छ।
फिल्मका पात्रहरू बुटवलकै वास्तविक मानिसहरू र उनीहरूको भोगाइबाट प्रेरित रहेको बताइएको छ। उनीहरूको भाषा, बोलीचालीदेखि शारीरिक हाउभाउसम्म वास्तविक जीवनका घटना र अनुभवबाट लिइएको जनाइएको छ।
ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस फिल्ममा मनीषा अधिकारी सह-निर्माताको रूपमा रहेकी छन्। फिल्ममा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ।
फिल्ममा एनबी महर्जनको एक्सन निर्देशन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन तथा रोहित बरालको लोकेसन साउन्ड रहेको छ। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गरेका छन्।
फिल्मको प्रदर्शन मिति घोषणा हुन बाँकी छ।