अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको फिल्म 'आइ एम जितबहादुर' को प्रदर्शन मिति तय गरिएको छ।
निर्माण टिमले सोमबार केही पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।
भारतीय तथा बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको यस फिल्मले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ।
फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनको जोडीका रूपमा वर्षा राउत देखिएकी छन्। साथमा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाललगायत कलाकारहरूको समेत अभिनय छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।
'आइ एम जीत बहादुर' को वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
