हिट फिल्म 'झिँगेदाउ' को दोस्रो शृंखला 'झिँगेदाउ २' को प्रदर्शन मिति तय भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म संविधान दिवसको अवसर पारेर असोज २ गतेदेखि प्रदर्शनमा आउने भएको हो।
निर्माण पक्षले फिल्मका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि दसैंको फूलपातीमा रिलिज हुने भनिए पनि त्यो मितिमा सिनेमा चलाउन निर्माताबीच होडबाजी देखिएपछि सुरक्षित मितिको रुपमा असोज २ रोजिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए।
सार्वजनिक पोस्टरमा अभिनेत्रीद्धय केकी अधिकारी र आँचल शर्मा तथा अभिनेताद्धय महेश त्रिपाठी र कुशल विष्ट क्यारेक्टर लुक्समा प्रस्तुत छन्।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरूषलगायत कलाकारहरूको अभिनय छ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुँयाल र शिशिर चालिसेले लेखेका हुन्। रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरूङको सम्पादन रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर तथा पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक हुन्।
फिल्मको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। छायांकन बिष्णु घिमिरे 'कल्पित' ले गरेका छन्।