कान्स फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुन लागेको नेपाली फिल्म 'तिनीहरू'(एलिफन्ट्स इन द फग)ले पहिलो अन्तर्राष्ट्रिय वितरण सम्झौता हासिल गरेको छ।
फेस्टिभलको 'अन सर्टेन रिगार्ड' खण्डमा प्रिमियर हुन लागेको फिल्मको अन्तर्राष्ट्रिय बिक्री अधिकार बेस्ट फ्रेन्ड फोरएभरले लिएको छ। प्रिमियरअघि फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको छ। बुधबार दिउँसो १ मिनेट ४४ सेकेन्ड अवधिको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको हो।
फ्रान्समा फिल्मको सह-वितरण अधिकार एरिजोना डिस्ट्रिब्युसन र ले वाल्सेउर्स डिस्ट्रिब्युसनले प्राप्त गरेका छन्।
जर्मनी र अस्ट्रियाका लागि वितरण अधिकार मिसिङ फिल्म्सलाई बिक्री गरिएको छ भने ब्राजिलमा इमोभिजनले वितरण गर्नेछ। नेपालमा भने घरेलु वितरणको जिम्मा द टी फोक्स फिल्म्सले लिनेछ।
यो फिल्म अविनाश बिक्रम शाहको निर्देशनमा बनेको हो। उनको सर्ट फिल्म 'लोरी'ले सन् २०२२ को कान्स फिल्म फेस्टिभलअन्तर्गतको सर्ट फिल्म प्रतिस्पर्धामा विशेष उल्लेख प्राप्त गरेको थियो।
उनले यसअघि मीन बहादुर भाम निर्देशित 'शाम्बाला' को पटकथा सहलेखनसमेत गरेका थिए, जसले सन् २०२४ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा स्थान पाएको थियो।
फिल्म कथा नेपालको एक सानो गाउँमा आधारित छ, जुन घना जंगलले घेरिएको छ र त्यहाँ जंगली हात्तीहरूको बासस्थान रहेको छ।
कथामा 'पिरती' नामकी 'किन्नर' समुदायकी एक मातृसत्तात्मक पात्र केन्द्रमा छिन्। उनी आफ्नो प्रेमीसँग 'सामान्य जीवन' बिताउने सपना देख्छिन्। तर उनकी एक छोरी हराएपछि उनले खोजी सुरू गर्नुपर्ने हुन्छ। प्रेम तथा समुदायप्रतिको जिम्मेवारीबीच उनले कठिन निर्णय लिनुपर्ने अवस्था आउँछ।
फिल्मको निर्माण अन्डरग्राउन्ड टाकिज नेपाल, ले वाल्सेउर्स र डाइ गेसेलशाफ्ट डीजीएसले गरेका हुन्।
सह–निर्मातामा एनक्वाड्रामेन्टो प्रोडुसोएन्स, बबल्स प्रोजेक्ट, जिश्लरमान फिल्मप्रोडुक्शन, स्टर्म फिल्म्स, जयन्ती क्रिएशन्स, जेडडीएफ/दास क्लाइने फेर्नजेहस्पील, जेडडीएफ/आर्टे रहेका छन्।
वितरण कम्पनी बेस्ट फ्रेन्ड फोरएभरले यस वर्ष कान्समा अन्य फिल्महरू पनि प्रतिनिधित्व गरिरहेको छ।