फिल्म 'स्त्री'को प्रदर्शन मिति तय गरिएको छ।
निर्माणपक्षले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। जीवन शाहिद्वारा निर्देशित फिल्म मंसिरको ११ गतेदेखि प्रदर्शनमा आउनेछ।
सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश कलाकारहरूलाई चित्रण गरिएको छ। फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ।
पोस्टरमा गाढा रातो रङको प्रभावसहित प्रमुख कलाकारहरूलाई राखिएको छ। पात्रहरूको भावनात्मक र गम्भीर अभिव्यक्ति पोस्टरमा झल्किन्छ। पोस्टरको डिजाइनले फिल्मलाई रहस्य, तनाव र भावनात्मक द्वन्द्वसँग जोडिएको संकेत गर्छ भने सस्पेन्स, थ्रिलर कथामा फिल्म बनेको अनुमान गर्न सकिन्छ।
यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। फिल्ममा सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाईं, कल्पना श्रेष्ठ, समीर लामालगायत कलाकारहरूको समेत अभिनय छ।
समीर राई निर्माता रहेको फिल्ममा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन र एलिस कार्कीको बीजीएम छ।