नेपाली फिल्म 'भागदौड' बक्स अफिसमा निकै कमजोर देखिएको छ।
असार २६ गतेदेखि सीमित शोसहित प्रदर्शनमा आएको फिल्मले ग्रस १ लाख रूपैयाँ पनि कमाउन नसकेको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार साउन ३ गतेसम्म फिल्मले ९२ हजार ९९५ रूपैयाँ ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मका ४०९ वटा टिकट बिक्री भएका छन्।
यो विवरणअनुसार 'भागदौड' यस वर्षको अहिलेसम्मकै सबभन्दा कमजोर व्यापार गर्ने नेपाली फिल्म बनेको छ। यसअघि वर्षकै सबभन्दा कम कमाइ गर्ने फिल्म 'जाँड' थियो, जसले १ लाख २६ हजार रूपैयाँ ग्रस कमाएको थियो।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको 'भागदौड'मा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन, सुभाष तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माता विश्वराम विष्ट हुन्।
कति पुग्यो 'रोल नं. १'को कमाइ?
शनिबार ५१ दिन मनाएको फिल्म 'रोल नं. १' ले १ करोड ७८ लाख २३ हजार ९०८ रूपैयाँ ग्रस कमाएको छ।
जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पछिल्लो आइतबारसम्ममा उक्त कमाइ गरेको हो। यो अवधिमा फिल्मको ७१ हजार ३६९ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ।
सामाजिक कथावस्तुमा आधारित 'रोल नं. १' का निर्देशक जोन योञ्जन हुन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामालगायतको अभिनय छ।
यसको निर्माता बिनोद पौडेल र जान्वी पौडेल हुन्।