मल्टिप्लेक्स बिग मुभिजले आफ्नो हलको नवीकरण गरेको छ। दर्शकको बढ्दो अपेक्षा र प्रविधिमा आएको विकासलाई ध्यानमा राख्दै हललाई थप सुविधासम्पन्न बनाइएको हो।
काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले फिल्म प्रदर्शनको गुणस्तर, ध्वनि, सिट र समग्र वातावरणमा सुधार गरेको छ।
हलमा विश्वप्रसिद्ध बार्को कम्पनीको फोर के आरजीबी लेजर प्रोजेक्टर जडान गरिएको छ। बार्को एसपी फोर के- ट्वान्टी सी स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार लुमेन चमक र फोर के दृश्य गुणस्तर प्रदान गर्छ। यसले पर्दामा देखिने दृश्यलाई थप स्पष्ट, चम्किलो र जीवन्त बनाउने कम्पनीको दाबी छ।
त्यस्तै, फिल्मका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी रङ क्षेत्र समेट्ने प्रविधि जडान गरिएको छ। हलहरूमा १९×४३, २०×४३ र २०×४६ फिटका विशेष सिल्भर स्क्रिन राखिएका छन्।
साउन्ड सिस्टमतर्फ थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ। परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ। हलको छत र चारैतिर राखिएका स्पिकरहरू तथा सीपी(५)ए साउन्ड प्रोसेसरको मद्दतले एकैपटक १२८ वटासम्म साउन्ड स्रोतलाई नियन्त्रण गर्न सकिन्छ। यसबाट दर्शकले चारैतिरबाट आउने वास्तविक साउन्डको अनुभव गर्न पाउने जनाइएको छ। विशेषगरी एक्सनप्रधान फिल्म हेर्दा यसको प्रभाव अझ बढी महसुस हुनेछ।
दर्शकको आरामलाई ध्यानमा राख्दै हलका सिटहरू पनि स्तरीय बनाइएको छ। २५५ वटा २२ इन्चका आरामदायी ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन्। ती कुर्सीमा एडभान्स एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा छ।
त्यस्तै, थप आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ।
बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा नवीकरणबारे जानकारी दिएका हुन्। उनले बिग मुभिजले आफ्नो इतिहास र पहिचानलाई कायम राख्दै प्रविधि तथा सुविधामा नयाँ स्तर स्थापित गर्न खोजेको बताए।
उनले भने, 'नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैं पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक नवीरकण मार्फत पुनः प्रमाणित गरेको छ। अब बिग मुभिजमा फिल्म हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन, यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौं।'