शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'गौंथली' ले यतिबेला उत्साहजनक व्यापार गरिरहेको छ।
फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक रहँदा फिल्मका दृश्यहरू खिचेर फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम पनि बढेको देखिन्छ।
यस्तोमा निर्देशक डा. कपिल रिजालले दर्शकलाई त्यस्ता सामग्री सार्वजनिक नगर्न आग्रह गरेका छन्। निर्देशक रिजालले यस विषयमा निर्माण पक्षले कानुनी प्रक्रिया पनि अघि बढाइसकेको जानकारी दिँदै फिल्मका दृश्य नखिच्न र सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गरेका हुन्।
उनले मंगलबार सामाजिक सञ्जालमा अपिल जारी गर्दै भनेका छन्, 'फिल्मका महत्वपूर्ण दृश्य वा लामो अंश खिचेर सार्वजनिक गर्दा अन्य दर्शकको उत्सुकता घट्ने मात्र होइन, फिल्म र यसको निर्माणमा गरिएको लगानीमा पनि प्रत्यक्ष असर पर्छ, गरिरहेको छ। तसर्थ, त्यस्ता कार्य नगर्न म विन्रम अनुरोध गर्दछु।'
फिल्मलाई दर्शकले दिएको माया, साथ र हौसलाप्रति उनले आभार व्यक्त गरेका छन्। यतिबेला फिल्मको सम्पूर्ण टिम विभिन्न सिनेमाघरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिइरहेको छ। फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
'गौंथली' मा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्।
फिल्मले प्रदर्शनको पहिलो चार दिनमा १ करोड ५० लाख रूपैयाँभन्दा माथिको ग्रस व्यापार गरिसकेको निर्माणपक्षले जनाएको छ।