मोडल तथा अभिनेत्री कविता नेपाली फिल्म 'एक्का तीन' मा अनुबन्धित भएकी छन्।
उनको जन्मदिनको अवसर पारेर निर्देशक रूपेश तामाङले उनलाई फिल्मको शीर्ष भूमिकाका लागि अनुबन्धित गरेका हुन्।
निर्देशक तामाङको निर्देशनमा बन्न लागेको 'एक्का तीन' मा यसअघि नै अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन्।
भदौदेखि छायांकनमा जाने तयारी रहेको फिल्मका लागि मुख्य तीन कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
कविता अनुबन्धित भएपछि निर्देशक तामाङले भने, 'यो एक्सन जनराको फिल्म हो। कविताजीको एक्सन प्रस्तुति दर्शकले रूचाइसक्नुभएको छ। त्यसैले उहाँकै जन्मदिनको अवसर पारेर हामीले उहाँलाई अनुबन्धित गरेका हौं।'
निर्देशक तामाङका अनुसार फिल्ममा पूजा शर्मा र कविता नेपालीबीच दमदार एक्सन प्रतिस्पर्धा देख्न पाइनेछ। तीन मुख्य पात्रको कथामा आधारित फिल्म ‘एक्का तीन’ जुना फिल्म्स र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्।
कविता नेपाली यसअघि फिल्म 'एक्लो' मा एक्सन अवतारमा देखिएकी थिइन्। उक्त फिल्ममार्फत उनले आफ्नो एक्सन अभिनय क्षमता प्रस्तुत गरेकी थिइन्। अब 'एक्का तीन' मार्फत उनी पुनः एक्सन भूमिकामै दर्शकमाझ प्रस्तुत हुने भएकी हुन्।
