निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। १८ दिनको उपचारपछि उनी बिहीबार अस्पतालबाट घर फर्किएकी हुन्।
मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रियापछि उपचाररत दीपाश्रीलाई स्वास्थ्य अवस्थामा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको हो। उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत थिइन्।
यसअघि अस्पतालले उनको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको थियो।
अभिनेता तथा निर्माता दीपकराज गिरीले दीपाश्री अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए। उनले फेसबुक पोस्टमार्फत यसबारे जानकारी दिँदै अस्पतालबाट बाहिरिने क्रममा दीपाश्रीले भनेको कुरा पनि उल्लेख गरेका छन्।
'४० वर्ष उमेर कटेपछि एकपल्ट मस्तिस्कको अवस्था परिक्षण गर्नुहुन सबैलाई अनुरोध गर्नुभएको छ,' दीपकले आफ्नो पोस्टमा लेखेका छन्।
दीपाश्रीले उपचारमा संलग्न स्वास्थ्यकर्मी, अस्पताल परिवार, शुभेच्छुक तथा अस्पताल पुगेर आशीर्वाद र शुभकामना दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।
दीपाश्री फिल्म 'छ माया छपक्कै २' को छायांकनका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी थिइन्। त्यसपछि गरिएको परीक्षणमा मस्तिष्कमा ट्युमर देखिएपछि उनको सफल शल्यक्रिया गरिएको थियो।