अभिनेता नाजिर हुसेनले भारतको नयाँदिल्लीस्थित एयरपोर्टमा आफूमाथि अनावश्यक केरकार गरिएको भन्दै प्रश्न उठाएका छन्।
एयरपोर्टमा आफूलाई दोस्रो पटक छुट्टै कक्षमा लगेर सोधपुछ गरिएको भन्दै उनले त्यसको कारण थाहा पाउनुपर्ने बताएका हुन्।
नेपाल एयरलाइन्समार्फत दिल्लीबाट नेपाल फर्किने क्रममा भागेको अनुभव नाजिरले शुक्रबार फेसबुकमार्फत साझा गरेका छन्।
उनी भारतस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो फिल्म 'गुन्यो चोलो' को विशेष प्रदर्शनमा सहभागी भएर नेपाल फर्किरहेका थिए। त्यस क्रममा उनीसँगै रहेका निर्देशक समुद्र भट्ट र जनकदीप पराजुलीलाई कुनै सोधपुछ नगरिए पनि आफूलाई छुट्टै कक्षमा लगिएको नाजिरले उल्लेख गरेका छन्।
'नेपाल किन जाँदै हुनुहुन्छ?' र 'तपाईंसँग कति पैसा छ?' जस्ता प्रश्न सोधेको उनले फेसबुकमा लेखेका छन्।
नाजिरले आफू नेपाल फर्किरहेको, आफूसँग भारतीय मुद्रा नभएको र भारत जानुको उद्देश्यसमेत स्पष्ट रूपमा बताएको जानकारी दिएका छन्। त्यसपछि आफूलाई किन छुट्टै सुरक्षा जाँचमा राखिएको भन्ने प्रश्न गर्दा ‘कोई बात नहीं’ भन्ने मात्रै जबाफ पाएको उनले बताएका छन्।
उनी प्रश्न गर्दै लेख्छन्, 'यो मेरो प्रश्नको जबाफ होइन। यदि 'कोई बात नहीं' हो भने किन रोकियो?'
नाजिरले आफ्नो पूरा नाम 'मोहम्मद नाजिर हुसेन' रहेको उल्लेख गर्दै यदि नामकै कारण हरेक पटक आफूलाई रोकेर विशेष सोधपुछ गरिन्छ भने त्यो गलत भएको बताएका छन्।
यदि त्यसो नभएको हो भने आफूले वास्तविक कारण थाहा पाउनुपर्ने उनको भनाइ छ।
'पासपोर्ट स्क्यान गर्दा व्यक्तिको बारेमा सिस्टममा जानकारी पक्कै देखाउँछ होला नी?,' उनी प्रश्न गर्दै अगाडि लेख्छन्, 'पहिलो पटक यसरी नै सोधपुछ गर्दा ठिकै छ जस्तो लागेको थियो। तर दोस्रो पटक ठिक लागेको छैन।'