२०७९ सालको व्यवसायिक सफल फिल्म 'झिंगेदाउ' को सिक्वेल 'झिंगेदाउ २' को टिजर सार्वजनिक भएको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा 'झिंगेदाउ २'को टिजर रिलिज गरिएको हो।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतमलगायत कलाकारको शीर्ष अभिनय छ।
सार्वजनिक टिजरमा मुख्यतया दुई दाजुभाइ आफ्नो आमाको खोजीमा भौंतारिएको देखाइएको छ।
दाजुभाइबीचको मात्र नभइ पहिलो भागमा झैं देउरानी-जेठानीबीचको द्वन्द्व, इख, नोकझोक र पारिवारिक तिक्ततालाई पनि मुख्य आकर्षणका रूपमा अगाडि बढाइएको छ।
नेपाली ग्रामीण परिवेश, पुरानो संस्कृति र परम्परालाई फिल्ममा उतारिएको देखिन्छ। घरभित्रको पारिवारिक माहोल र सम्बन्धमा आउने उतारचढावको कथा यस फिल्मले भन्ने टिजरबाट अनुमान लगाउन सकिन्छ।
फिल्ममा सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि बैरागी नेपाल, आशा भुसाललगायत कलाकारहरूको समेत अभिनय छ। मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको विशेष उपस्थिति पनि दर्शकले हेर्न पाउनेछन्।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपाल प्रा. लि.को प्रस्तुति रहेको 'झिंगेदाउ २' को निर्मातामा सुलभ प्रतीक देउजा र समीक्षा देउजा छन्।
परिच्छेद सेनको स्क्रिनप्ले र संवाद रहेको फिल्मका लेखक गोविन्द फुयाँल र शिशिर चालिसे हुन्। डिओपी विष्णु घिमिरे ‘कल्पित’ र सम्पादन मित्र डी गुरूङको हो।
'झिंगेदाउ २' आगामी असोज २ देखि देशभरका हलहरूमा प्रदर्शनमा आउने तय छ।