प्रदर्शन तयारीमा रहेको फिल्म 'लज्जावती'को दोस्रो गीत सार्वजनिक गरिएको छ।
निर्माणपक्षले बिहीबार गायक थानेश्वर गौतमको स्वरमा 'मलाई पिर परेको तिम्लाई के थाहा छ' सार्वजनिक गरेको हो। यो गीतमा भीम कुमार ओझाको शब्द र सन्तोष बीसीको संगीत छ।
प्रेमविरहको यो गीतको भिडिओमा फिल्मका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौला फिचर्ड छन्। उनीहरूको प्रेम र विछोडपछिको अवस्थालाई भिडिओमा चित्रण गरिएको छ।
प्रेमिकाले छोडेपछि निरौलाको पात्र मानसिक रूपमा विचलित बनेको देखाइएको छ, जहाँ उनी जताततै आफ्नी प्रेमिकालाई देखिरहेको अनुभूति गर्छन्। भिडिओमा मुकुन भुसाल र जानुका विश्वकर्मा पनि देखिएका छन्।
'लज्जावली'ले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षको कथा प्रस्तुत गर्ने निर्देशक राजबहादुर सानेले बताएका छन्।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेललगायत कलाकारहरूको अभिनय छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता हुन्। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन देव महर्जन र छायांकन दिव्यराज सुवेदीले गरेका हुन्।
'लज्जावती' यही साउन २९ गतेदेखि प्रदर्शन तयारीमा छ।