वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म 'म मदनकृष्ण'को छायांकन सुरू भएको छ। शुक्रबार शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो।
शुभमुहूर्तमा फिल्मका अधिकांश कलाकारहरूको उपस्थिति थियो। फिल्मको छायांकन काठमाडौंसँगै पाँचखाल र पनौतीमा गरिने निर्माणपक्षले जनाएको छ। छायांकन सुरू भएसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ।
'म मदनकृष्ण' आगामी चैत ४ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
निर्देशक मिलन चाम्सले मदनकृष्ण श्रेष्ठको जीवनका संघर्ष, सफलता र अनुभवलाई पर्दामा प्रस्तुत गर्न लागेको बताए। मिलनले यसअघि राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म 'अञ्जिला' निर्देशन गरेका थिए। उनले भने, 'अञ्जिलाको सिनेमा जसरी दर्शकले रूचाउनु भयो, त्यस्तै यो फिल्मलाई पनि उत्कृष्ट बनाउने प्रयास गर्नेछौं।'
'म मदनकृष्ण'मा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने केकी अधिकारीले उनकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्। त्यस्तै, अरूण क्षेत्रीले हरिवंश आचार्यको भूमिका र वर्षा राउतले हरिवंशकी श्रीमतीको भूमिका निर्वाह गर्नेछिन्।
फिल्ममा मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटनालाई समेटिनेछ।
राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रूषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारहरूको पनि फिल्ममा अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको फिल्मलाई राजकुमार श्रेष्ठले निर्माण गर्दैछन्।
काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ।
