यो वर्षको बहुप्रतीक्षित मध्येको फिल्म 'छ माया छपक्कै २'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। दीपकराज गिरी र दीपाश्री निरौलाको यो फिल्म असोज ३१ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउने भएको हो।
यसअघि फिल्म दसैंमा प्रदर्शन हुने बताइए पनि निश्चित मिति सार्वजनिक गरिएको थिएन। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति तय गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई प्रस्तुत गरिएको छ। पोस्टरमा दीपक बाँसुरी बजाउँदै बीचमा देखिन्छन् भने उनको दायाँ–बायाँ गर्भवती अवस्थाका केकी र सनिशा देखिएका छन्। पोस्टरले फिल्मको कथा पारिवारिक तथा वैवाहिक सम्बन्धसँग जोडिएको संकेत गर्छ।
कमेडीमार्फत सामाजिक विषयलाई प्रस्तुत गर्दै आएको दीपकराज गिरीको फिल्ममा यसपटक पनि समाज र पारिवारिक सम्बन्धका विषय समेटिएको निर्माण पक्षले जनाएको छ। दीपेन्द्र लामाको निर्देशनमा तयार फिल्मको निर्माता रोहित अधिकारी हुन्।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतिमा फिल्म बनेको हो। कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्।
यसको पहिलो शृंखला 'छ माया छपक्कै' बक्स अफिसमा सुपरहिट भएको थियो। पहिलो भागमा पानीको समस्यालाई मुख्य विषय बनाइएको थियो।
पहिलो भाग रिलिजको ६ वर्षभन्दा लामो समयपछि दोस्रो भाग दर्शकमाझ आउन लागेको हो।