बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा नेपाली फिल्म '२६ करोड' निर्माणको औपचारिक घोषणा गरिएको छ। मंगलबार साँझ भारतको मुम्बईमा आयोजित कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो।
सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्ममा अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री साहारा आर शाह मुख्य भूमिकामा रहनेछन्। साहारालाई फिल्मको मुख्य अभिनेत्रीका रूपमा निर्माण पक्षले औपचारिक रूपमा अनुबन्धित गरेको छ। निर्माता सुवास भुसाल र साहाराबीच कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
साहाराले अनुपम खेरको एक्टर प्रिपेयर्स एक्टिङ एकेडेमीबाट अभिनय प्रशिक्षण लिएकी हुन्। निर्देशक विकास सुवेदीका अनुसार उनी अडिसनमार्फत फिल्ममा छनोट भएकी हुन्। कथाअनुसार हिन्दी लवज भएकी अभिनेत्री आवश्यक भएकाले साहारालाई छनोट गरिएको उनले बताए।
फिल्म घोषणा कार्यक्रममा विवेक ओबेरोय भावुक बनेका थिए। लामो समयदेखि साहाराको अभिभावकत्व सम्हाल्दै आएका ओबेरोयले उनको फिल्मी यात्रालाई आफ्नो जन्मदिनको विशेष उपहारका रूपमा लिएको बताए।
साहारा तीन वर्षको उमेरदेखि क्यान्सरसँग संघर्षरत थिइन्। क्यान्सरलाई जितेकी उनलाई क्यान्सर पेसेन्ट्स एड एसोसिएसनमार्फत ओबेरोयले स्वास्थ्योपचार, शिक्षा तथा संरक्षकत्व प्रदान गर्दै आएका छन्। फिल्ममा साहारा अनुबन्धित भएको प्रसंगमा ओबेरोयले उनको संघर्ष स्मरण गर्दै भावुक धारणा राखेका थिए।
यसअघि नै फिल्मको मुख्य भूमिकामा प्रदीप खड्का अनुबन्धित भइसकेका छन्। प्रदीपसँग साहाराले जोडीका रूपमा अभिनय गर्नेछिन्।
'२६ करोड'को लेखन तथा निर्देशन विकास सुवेदीले गर्नेछन्। किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी नोभेम्बर-डिसेम्बरमा हुनेछ। फिल्मको छायांकन नेपालको जुम्ला र काठमाडौंका साथै भारतको मुम्बई तथा केदारनाथका विभिन्न स्थानमा गरिने निर्माता सुवास भुसालले जानकारी दिए।
कर्णाली फिल्म फेस्टिभलका अवसरमा फिल्मको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो। सोहीअनुसार फेस्टिभलका निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा फिल्मको औपचारिक घोषणा गरिएको हो।
