नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म 'टनेल २६: द कर्स बिनिथ द माउन्टेन'को ट्रेलर सार्वजनिक गरिएको छ।
ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा फिल्मका नेपाली तथा भुटानी निर्माता र कलाकारको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो।
डिजास्टर जनरामा निर्माण भएको फिल्म असोज २३ गते (अक्टोबर ९) देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोली नेपाल आएको थियो।
सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङमा भएको दुर्घटनापछि उत्पन्न संकट र त्यसबाट सिर्जना हुने परिस्थितिलाई प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार फिल्म भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित छ। कथालाई यथार्थपरक बनाउन भुटानस्थित वास्तविक सुरूङमा समेत फिल्मका महत्वपूर्ण दृश्य छायांकन गरिएको छ।
फिल्मको छायांकन करिब १०० दिनसम्म गरिएको थियो। दीर्घ गुरूङ र सङ्गे टी. तेन्जिङले छायांकन गरेको फिल्ममा सुरूङभित्रको दुर्घटना, उद्धार प्रयास र त्यसपछि उत्पन्न हुने संकटलाई केन्द्रमा राखिएको छ। ट्रेलरमा दृश्य प्रभाव तथा भीएफएक्सको प्रयोगसमेत देख्न सकिन्छ।
'टनेल २६'मा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय छ। फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्।

फिल्ममा नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। कार्यक्रममा खड्काले आफू फिल्ममा कलाकारका रूपमा नभई निर्माताका रूपमा मात्र जोडिएको स्पष्ट पारे। उनले नेपाली तथा भुटानी कलाकार र प्राविधिकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
मुख्य कलाकार तथा निर्माता सङ्गे छेल्ट्रिमले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा निर्माण गरिएको दाबी गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरे। उनले नेपालमा पछिल्लो समय आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फिल्मबाट आफ्नो हिस्सामा प्राप्त हुने आम्दानीको ५० प्रतिशत अर्थात् कुल आम्दानीको २५ प्रतिशत रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा पनि गरे।
निर्माता निर्वाण चौधरीले नेपाल र भुटानको टोलीसँग सहकार्य गरेर फिल्म निर्माण गर्न पाउँदा खुसी लागेको बताए। उनले आफ्ना पिता विनोद चौधरीले चार दशकअघि फिल्म निर्माण गरेको स्मरण गर्दै आफू पनि फिल्म निर्माणमा निरन्तर लाग्ने बताए।
'टनेल २६'लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्।
नेपाल र भुटानमा प्रदर्शनपछि फिल्मलाई एसिया, उत्तर अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ।