प्रदर्शन तयारीमा रहेको फिल्म 'बा: एक योद्धा'ले काठमाडौंमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ।
मंगलबार साँझ आयोजित प्रिमियरमा सहभागी फिल्मकर्मी, कलाकार, संगीतकर्मी तथा सञ्चारकर्मीले फिल्मको कथालाई नेपाली समाजका धेरै परिवारको यथार्थसँग जोडिएको बताएका छन्।
प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले आफू फिल्म हेर्दा भावुक बनेको बताए। उनले फिल्मले आधुनिक समाजको वास्तविकतालाई बुवाआमाको त्याग र सन्तानको बदलिँदो व्यवहारमार्फत प्रस्तुत गरेको बताए।
'मलाई फिल्म राम्रो लाग्यो। रून मन लाग्यो। सितिमिति लोग्नेमान्छे रूँदैनन्, मनमनै रोएँ,' उनले भने।
हरिवंशले फिल्ममा दिव्यदेवले निर्वाह गरेको बुवाको भूमिकाको प्रशंसा गर्दै आगामी पुस्ताले पनि बुवाआमाको मन र उनीहरूले सन्तानका लागि गर्ने त्याग बुझ्न फिल्म हेर्नुपर्ने बताए।
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले फिल्मको कथावस्तु, प्रस्तुति र सन्देश प्रभावकारी रहेको प्रतिक्रिया दिए। अभिनेत्री ऋचा शर्माले फिल्मलाई ‘मिठो’ भन्दै दिव्यदेवको अभिनयको विशेष प्रशंसा गरिन्।
अभिनेत्री पुष्पा थिङ लामाले पनि फिल्मले आफूलाई भावुक बनाएको बताइन्। विशेषगरी दिव्यदेवको चरित्र र 'तिम्रो एक खिली चुरोटले मलाई ऋणी बनायो' भन्ने संवादले आफूलाई छोएको उनको प्रतिक्रिया थियो।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्मले सन्तानका लागि बुवाले गर्ने त्याग, संघर्ष र बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ। रोजगारी, अध्ययन तथा अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढिरहेका बेला घरमा रहेका बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई फिल्मले प्रस्तुत गरेको छ।
यसअघि नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह-निर्माता छन्। फिल्ममा शिवराम श्रेष्ठको छायांकन तथा मित्र डि गुरूङको सम्पादन छ।
'बा: एक योद्धा' असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।


