अविरल वर्षाका बीच आज एकैदिन तीन नेपाली फिल्म रिलिज भएका छन्। फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि 'आचार्य', 'बाः एक योद्धा' र 'जदौ' देशभरका हलमा प्रदर्शनमा आएका हुन्।
अभिनेता निखिल उप्रेतीको लेखन, निर्देशन, निर्माण तथा मुख्य अभिनय रहेको 'आचार्य' एक्सन-ड्रामा जनरामा बनेको फिल्म हो। फिल्ममा निखिलसँगै पूर्णिका सिजापती, दीपजंग राणा, रोहित चौधरीलगायत कलाकारहरूको अभिनय छ।
पूर्णिकाले यही फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। यो फिल्ममार्फत निखिलले लामो समयपछि ठूलोपर्दामा कमब्याक गरेका हुन्।
त्यस्तै, हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको 'बाः एक योद्धा' पारिवारिक तथा भावनात्मक कथामा आधारित छ। फिल्मले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र वृद्धावस्थामा भोग्नुपर्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ।
यसमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, सागर खनाल, अनिल बुढाथोकीलगायत कलाकारले अभिनय गरेका छन्।
'जदौ' भने प्रेम, जातीय विभेद, अन्तरजातीय सम्बन्ध र पारिवारिक द्वन्द्वको कथामा बनेको सामाजिक ड्रामा हो। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, राजश्री थापालगायत कलाकारको अभिनय छ।
तीनै फिल्म फरक-फरक कथावस्तु र जनरामा आधारित छन्।