सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म 'शुभ विवाह'को छायांकन तीन दिनका लागि स्थगित गरिएको छ।
लगातारको भारी वर्षा र प्रतिकूल मौसमका कारण असोज ९, १० र ११ गते छायांकन रोकिएको निर्माण पक्षले जनाएको छ।
निर्माता सुप्रिया कटुवालद्वारा जारी विज्ञप्तिमा कलाकार तथा प्राविधिक टोलीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै छायांकन स्थगित गरिएको उल्लेख छ। निर्माण पक्षले खराब मौसमका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई सतर्क र सुरक्षित रहन आग्रहसमेत गरेको छ।
४५ दिनको सेड्युलसहित पोखराबाट सुरू भएको फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ। गीतबाहेक अधिकांश दृश्यको छायांकन सकिएको निर्देशक सुदर्शन थापाले बताएका छन्।
रोमान्टिक कथामा आधारित फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। ‘प्रेम गीत’पछि निर्देशक थापा र अभिनेता खड्काको लामो समयपछि पुनर्मिलन भएको फिल्मका रूपमा पनि ‘शुभ विवाह’लाई हेरिएको छ।
फिल्म आगामी फागुन २१ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।