अभिनेत्री परीक्षा लिम्बु यही मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'हिमालयन गोल्ड'मा सोनामको भूमिकामा देखिँदैछिन्।
हिमाली परिवेशमा निर्माण गरिएको फिल्ममा उनी प्रमुख पात्र हुन्। उनका लागि यो फिल्म अभिनयको नयाँ अनुभवसँगै सिकाइ र चुनौतीको अवसर पनि बनेको छ।
परीक्षा आफूलाई फिल्मको एउटा महत्त्वपूर्ण पिलरका रूपमा चित्रण गर्छिन्। टिमको सहयोगले चुनौतीपूर्ण चरित्रलाई सहज रूपमा प्रस्तुत गर्न सकेको उनको भनाइ छ।
'सिंगो कथा एक्लै बोक्नुभन्दा पनि कथाअनुसार मैले न्याय गरेको छु भन्ने लागेको छ। मैले सबै टिमसँग मिलेर पिलरको काम गरेकी छु। निर्देशकदेखि फिल्मका सबै सदस्यको सहयोग र बुझाइ थियो। सोनाम चरित्र चुनौतीपूर्ण त लागेकै थियो। तर, टिम राम्रो भएपछि त्यो यात्रा रमाइलो भयो,' उनी भन्छिन्।
निर्देशक धिराज राजवंशीले कथा सुनाउँदै सोनामको भूमिका प्रस्ताव गर्दा आफू उत्साहितसँगै केही नर्भस पनि भएको परीक्षा बताउँछिन्। हिमाली परिवेशको कथामा यसअघि काम नगरेकाले चरित्र उनका लागि नयाँ थियो।
उनले भनिन्, 'हिमाली भेगको कथामा मैले आफूलाई कहिल्यै एक्सप्लोर गरेकी थिइनँ। यस्तो परिवेशको कथा र चरित्र दर्शकमाझ आउनुपर्छ भन्ने लागेको थियो। मेरो उत्साहले अगाडि बढिरहन मोटिभेट ग¥यो भने नर्भसनेसले कताकता जिम्मेवार पनि बनाइरहेको थियो।'
सोनाम चरित्रलाई जीवन्त बनाउन पात्रको सोच, व्यवहार र निर्णयका पछाडिका कारण बुझ्ने प्रयास गरेको उनी बताउँछिन्।
'मैले त्यो क्यारेक्टरलाई बुझ्ने कोसिस गरें। उसले कसरी सोच्छ, उसको व्यवहार कस्तो छ र उसले गर्ने निर्णयका पछाडिका कारण के छन् भन्ने बुझ्न खोजें। निर्देशकको भिजन र टिमको सहयोगले पनि धेरै मद्दत गर्यो,' उनले सुनाइन्।
धिराज राजवंशी निर्देशित 'हिमालयन गोल्ड' मा परीक्षासँगै सुनिल थापा, कार्म, साजन थापा, मेनुका प्रधान, अंकित खड्कालगायत कलाकार शीर्ष भूमिकामा छन्। अग्रज कलाकारसँग काम गर्नुलाई परीक्षा सिकाइको अवसर मान्छिन्।

'अग्रज कलाकारसँग काम गर्दा उहाँहरूको अनुभव र काम गर्ने तरिकाबाट धेरै कुरा सिक्ने अवसर पाइन्छ। यो फिल्ममा पनि सुनिल थापा सर र अरू राम्रा कलाकारसँग स्क्रिन सेयर गर्ने मौका पाएकी छु। यसले मेरो आत्मविश्वास बढ्दै गएको महसुस भइरहेको छ,' उनी भन्छिन्।
परीक्षाले यसअघि 'जारी', 'पुजार सार्की' र 'ऊनको स्वीटर'जस्ता सफल तथा प्रशंसित फिल्ममा अभिनय गरिसकेकी छन्। उनको पछिल्लो रिलिज फिल्म भने 'सोल्टिनी' हो।
आफूभन्दा फरक सोच र स्वभाव भएका चरित्रमा काम गर्न रूचाउने परीक्षा सोनामसँग आफ्नो स्वभावका केही समानता भए पनि धेरै पक्षमा फरक रहेको बताउँछिन्।
परीक्षा 'हिमालयन गोल्ड'लाई अग्निपरीक्षाका रूपमा लिन्निन्। उनका लागि हरेक फिल्म नयाँ अनुभव र सिकाइको अवसर हो। आफ्नो अभिनयको अन्तिम मूल्यांकन दर्शकले नै गर्ने उनको भनाइ छ।
परीक्षा फिल्म हेरिसकेपछि दर्शकले आफूलाई भन्दा पनि सोनाम चरित्रलाई सम्झिऊन् भन्ने चाहिन्छन्।
भन्छिन्, 'फिल्म हेरिसकेर हलबाट बाहिर निस्कँदा पछिसम्म पनि सोनाम चरित्र उहाँहरूको मनमा रहिरहोस्। त्यसको कुनै एउटा दृश्य वा इमोसन पछिसम्म सम्झना आइरहोस् भन्ने चाहन्छु। एउटा कलाकारका लागि योभन्दा ठूलो कुरा केही पनि हुँदैन जस्तो लाग्छ।'
फिल्म कुनै एक कलाकारको प्रयासले मात्रै नबन्ने बताउने परीक्षा हरेक प्रोजेक्टमा कलाकारले आफूलाई प्रमाणित गर्नुपर्ने धारणा राख्छिन्।
'कुनै पनि कलाकारले मात्रै फिल्मलाई स्थापित गर्ने भन्ने हुँदैन। त्यसमा सबैको समान सहयोग हुन्छ। प्रत्येक प्रोजेक्टमा कलाकारले आफूलाई प्रमाणित गर्नुपर्छ जस्तो लाग्छ,' उनी भन्छिन्।
'हिमालयन गोल्ड'बाट दर्शकले राम्रो सिनेम्याटिक अनुभव लिऊन् र नेपाली फिल्ममा हिमाली परिवेशलाई समेटेर पनि स्तरीय सिनेमा निर्माण गर्न सकिन्छ भन्ने सन्देश पुगोस् भन्ने चाहना रहेको परीक्षाले बताइन्।
यो फिल्मको कथावस्तु हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन र त्यसको सुरक्षाका लागि संघर्ष गर्ने एक युवतीको वरिपरि घुम्छ। लोभ, अस्तित्वको संघर्ष र प्रतिशोधको कथालाई थ्रिलर तथा ड्रामा विधामा प्रस्तुत गरिएको छ।
'हिमालयन गोल्ड' को अग्रिम टिकट बिक्रीसमेत सुरू भइसकेको छ।