पछिल्लो समय रिलिज नेपाली फिल्मका सिक्वेलले बक्स अफिसमा अपेक्षाअनुसार व्यापार गर्न नसकेको देखिएको छ।
यस वर्ष रिलिज भएका चर्चित सिक्वेलहरूको अघिल्लो भागसँग तुलना गर्दा कमाइमा ठूलो गिरावट देखिएको हो। कुनै फिल्मको व्यापार त पहिलो भागको तुलनामा ८८ प्रतिशतसम्म कम छ।
यसपालि दसैंको अवसर पारेर असोज ३० गते '१२ गाउँ २' र 'आबाट आमा २' रिलिज भएका थिए। त्यसको भोलिपल्टदेखि 'छ माया छपक्कै २' प्रदर्शनमा आएको थियो। यी तीनवटै फिल्मको व्यापार पहिलो भागको तुलनामा निकै कमजोर देखिएको हो।
विराज भट्ट र समीर भट्टको फिल्म '१२ गाउँ'ले घरेलु बक्स अफिसमा १९ करोड ९२ लाख रूपैयाँ ग्रस कमाएको थियो। तर यसको सिक्वेल '१२ गाउँ २' ले कात्तिक २९ गतेसम्म २ करोड ३२ लाख ९६ हजार रूपैयाँ मात्रै कमाएको छ। पहिलो भागको तुलनामा यसको व्यापार करिब ८८.३ प्रतिशत कम हो। अर्थात्, पहिलो फिल्मभन्दा सिक्वेलको ग्रस कमाइ १७ करोड ५९ लाख रूपैयाँभन्दा बढी कम छ।
त्यस्तै, पल शाह, विपना थापा, प्रदीप रावत लगायतको अभिनय रहेको 'आ बाट आमा' ले १३ करोड २० लाख रूपैयाँ कमाएको थियो। यसको सिक्वेल 'आ बाट आमा २' ले भने कात्तिक २९ गतेसम्म ६ करोड ९१ लाख ६१ हजार ३१२ रूपैयाँ ग्रस कमाएको छ। चन्द्र पन्त निर्देशित फिल्मको कमाइ पहिलो भागको तुलनामा करिब ४७.६ प्रतिशत कम हो। रकमका हिसाबले हेर्दा पहिलो फिल्मभन्दा सिक्वेलको व्यापार ६ करोड २८ लाख रूपैयाँभन्दा बढीले कम छ। यद्यपि, यसको कमाइलाई अघिल्लो फिल्मसँग तुलना नगरी हेर्ने हो भने भने उत्साहजनक नै मान्न सकिन्छ।
दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म दीपेन्द्र लामा निर्देशित 'छ माया छपक्कै' ले २०७६ सालमा प्रदर्शन हुँदा ९ करोड ९२ लाख रूपैयाँ ग्रस कमाएको थियो। 'छ माया छपक्कै २' ले भने ३ करोड ४३ लाख १७ हजार रूपैयाँ मात्रै कमाएको छ। पहिलो भागको तुलनामा सिक्वेलको व्यापार करिब ६५.४ प्रतिशत कम हो। अर्थात्, कमाइमा ६ करोड ४८ लाख ८३ हजार रूपैयाँको अन्तर देखिएको छ।
यसअघि असोज २ गते रिलिज ‘झिंगेदाउ २’ को पनि बक्स अफिस व्यापार निराशाजनक देखिएको थियो। ज्ञानेन्द्र देउजा निर्देशित फिल्मले घरेलु बक्स अफिसमा १ करोड ४६ लाख ३० हजार रूपैयाँ ग्रस कमाएको छ। पहिलो भागको तुलनामा यसको सिक्वेलको कमाइ पनि धेरै कम हो।

यस्तै, कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको रामबाबु गुरूङ निर्देशित 'कबड्डी ५' को अवस्था भने केही फरक छ। 'कबड्डी ४' ले घरेलु बक्स अफिसमा २१ करोड ४० लाख रूपैयाँ ग्रस कमाएको थियो। 'कबड्डी ५' ले कात्तिक २९ गतेसम्म १२ करोड ९४ लाख १५ हजार रूपैयाँ कमाएको छ। पहिलो भागको तुलनामा अहिलेसम्म यसको व्यापार करिब ३९.५ प्रतिशत कम छ।
'कबड्डी ५' को सुरूआती व्यापार भने निकै उत्साहजनक थियो। यसले पहिलो १० दिनमै १० करोड रूपैयाँको आँकडा पार गरेको थियो। तर, पछिल्लो समय यसको कमाइको रफ्तार सुस्ताएको छ। फिल्म अझै प्रदर्शनरत रहेकाले व्यापार बढ्ने सम्भावना छ। तर, पछिल्लो रफ्तार हेर्दा पहिलो भागको २१ करोड ४० लाखको कमाइलाई भेट्टाउन कठिन देखिन्छ।
यद्यपि, 'कबड्डी ५' को कमाइ भने आफैमा निकै ठूलो हो। यसले यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा दोस्रो स्थान बनाइसकेको छ।

दसैंमा प्रदर्शनमा आएका '१२ गाउँ २', 'आ बाट आमा २' र 'छ माया छपक्कै २' अहिले धेरैजसो हलबाट उत्रिसकेका छन्। त्यसैले यी तीन फिल्मको कमाइमा अब ठूलो वृद्धि हुने सम्भावना न्यून छ।
यता, 'कबड्डी ५' को अन्तिम व्यापार भने आउन बाँकी नै छ। तर अहिलेसम्मको अवस्थाले अघिल्लो भागको तुलनामा सिक्वेलहरूको व्यापारमा ठूलो गिरावट आएको स्पष्ट देखाउँछ।