नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश हुने क्रम जारी छ। यही क्रममा खासगरी लोकदोहोरी म्युजिक भिडिओमा जमेकी मोडल जुना विश्वकर्माले फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन्।
अभिनेता प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म 'उही तिम्रो'मार्फत जुनाले डेब्यू गर्न लागेकी हुन्।
म्युजिक भिडिओमा आफ्नो अभिनय र नृत्यमार्फत दर्शकको मन जित्दै आएकी जुनाका लागि फिल्म यात्रा नयाँ अध्याय हुनेछ।
उनले 'म त ढलें ढलें', 'बाहुन बाजे', 'पोखरा पृथ्वी चोकैमा', 'हियारै', 'नम्बरी सुन हो नि म त'लगायत थुप्रै चर्चित गीतका भिडिओमा मोडलिङ गरेकी छन्। पछिल्लो समय चर्चामा रहेको गीत ‘यता हेरन’मा पनि उनलाई देख्न सकिन्छ।
त्यस्तै, फिल्म 'रोल नं. १'को गीत ‘म्याग्दी रूमले’मा समेत जुनाले नृत्य गरेकी थिइन्। यो गीतले पनि निकै चर्चा बटुलेको थियो। म्युजिक भिडिओसँगै टिकटकमा समेत लोकप्रिय रहेकी जुना अब फिल्ममार्फत आफ्नो कलाकारिताको दायरा फराकिलो बनाउने तयारीमा छिन्।
कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको 'उही तिम्रो'मा प्रदीप खड्का, पल शाह, सिम्रन पन्त र जुना विश्वकर्मालगायत कलाकारको अभिनय रहने जनाइएको छ।
केपी फिल्म्स र पुरूषोत्तम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता विशाल चौलागाईं हुन्। शीर्षकले नै प्रेमकथाको आभास दिने फिल्मको छायांकन केही दिनभित्रै सुरू गर्ने तयारी छ।
मुहूर्तमा बेवास्ता गरिएको चर्चा, के भनिन् उनले?

यो फिल्मको केही दिनअघि शुभमुहूर्त सम्पन्न भयो। तर मुहूर्तका सार्वजनिक दृश्यमा जुना खासै नदेखिएपछि सामाजिक सञ्जालमा उनलाई फिल्मको टिमले बेवास्ता गरेको भन्दै चर्चा सुरू भयो। कतिपयले टिमको व्यवहारप्रति आलोचनासमेत गरे।
यद्यपि, जुनाले भने बाहिर चर्चा भएजस्तो अवस्था नरहेको स्पष्ट पारेकी छन्। आफू शुभमुहूर्तमा केही ढिलो पुगेको जुनाले बताएकी छन्। कार्यक्रम सुरू भइसकेकाले नयाँ टिमसँग सुरूमा अलि नर्भस तथा असहज महसुस भएको उनको भनाइ छ। तर, वास्तविकतामा सबैले आफूलाई माया गरेर, प्यारी मानेर बोलाएको जुना बताउँछिन्।
जुनाले पल शाहसँग यसअघि नै थुप्रै म्युजिक भिडिओमा सहकार्य गरिसकेकी छिन्।
मुहूर्तमा बेवास्ता गरिएको भन्ने चर्चाबारे जुनाले भनेकी छन्, 'पल दाइले मलाई इग्नोर गर्ने कुरै हुँदैन। उहाँले नै पर्सनल्ली फोन गरेर जुना तिमी आऊ, तिमीले गर्न सक्छौ भनेर सल्लाह दिनुभएको हो।'
फिल्ममा डेब्यू गर्न पाउँदा आफू निकै उत्साहित र खुसी रहेको पनि जुनाले बताएकी छन्।
