बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो।
सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
'शोले' मा बहुचर्चित वीरूको भूमिकासहित 'फूल और पत्थर', 'सीता और गीता', 'चुपके चुपके', 'प्रतिज्ञा' र 'धर्म वीर' जस्ता उनका फिल्महरू सदाबहार मानिन्छन्। रोमान्टिकदेखि एक्सन हिरोसम्मको भूमिकामा उनले आफ्नो बलियो छाप छाडेका छन्।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका धर्मेन्द्र पछिल्लो पटक ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए। उनको अन्तिम फिल्म ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ। उक्त फिल्मको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो।
धर्मेन्द्रका श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहाना देओल छन्।