बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे अभिनीत फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार धर्मा प्रोडक्सनको युट्युबमार्फत यो रोमान्टिक कमेडी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा कार्तिकलाई वर्तमान जीवनमा रमाइलो गर्न रूचाउने व्यक्तिका रूपमा देखाइएको छ। उनको अनन्यासँगको पहिलो भेट, मजाक, तर्कवितर्क ट्रेलरमा देखिन्छ। अन्ततः यी दुईको मन परिवर्तन भएर प्रेमतर्फ मोडिन्छ। कथाको मध्यतिर दुवैको सम्बन्धमा दरार उत्पन्न हुने मोड पनि प्रस्तुत गरिएको छ।
समग्रमा भन्दा ट्रेलरमा प्रेम, कमेडी र भावनात्मक मोड देख्न सकिन्छ। सुन्दर दृश्य, नाचगान र हास्य संवाद तथा दृश्यहरू ट्रेलरमा देखिन्छ।
'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' समीर विद्वानले निर्देशन गरेका हुन्। करण जोहर यो फिल्मका निर्माता हुन्।
फिल्म क्रिसमस डेको अवसर पारेर डिसेम्बर २५ (पुस १०) देखि प्रदर्शनमा आउँदैछ।
यो फिल्म नेपालमा समेत प्रदर्शनमा आउने तयारीमा छ।