दक्षिण भारतीय स्टार प्रभास अभिनीत फिल्म 'द राजा साब' को प्रदर्शन निराशाजनक देखिएको छ।
यो प्यान–इण्डिया फिल्मको रिलिजअघि ठूलो हाइप थियो। तर यसले भारतसँगै विश्वभर कमजोर व्यापार गरेको छ। मुख्य रूपमा तेलुगु भाषामा बनाइएको फिल्मको हिन्दी संस्करणको कमाइ पनि न्यून रह्यो।
फ्यान्टासी, हरर, कमेडी जनरामा बनेको फिल्मको हिन्दी संस्करणले भारतमा करिब २० करोड ५० लाख भारू बराबरको मात्रै कमाइ गर्दै आफ्नो थियट्रिकल प्रदर्शन अन्त्य गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
९ जनवरीमा रिलिज भएको फिल्मले सुरूआती दिनदेखि नै कमजोर प्रतिक्रिया पायो। पिंकभिल्लाको रिपोर्ट अनुसार पहिलो हप्तामै दर्शकको चासो घट्दै गएपछि दोस्रो हप्तामा फिल्मको व्यापारमा झन्डै ९० प्रतिशतसम्म गिरावट आएको थियो।
कमजोर वर्ड अफ माउथ र नकारात्मक समीक्षाका कारण फिल्म हलमा लामो समय टिक्न नसकेको बताइएको छ। रिपोर्टअनुसार फिल्मले पहिलो हप्तामा हिन्दी संस्करणबाट भारतमा करिब १८ करोड ७५ लाख भारू नेट कमाएको थियो। दोस्रो हप्तामा यो आँकडा घटेर करिब १ करोड ७५ लाख भारूमा सीमित भएको जनाइएको छ।
४ सय करोडभन्दा माथिको बजेटमा बनेको यस भनिएको फिल्मको विश्वव्यापी कमाइ हाल लगभग २०३ करोड भारू रहेको छ। जसमध्ये भारतमा यसको कुल कमाइ १४२ करोड ८ लाख रहेको ट्रेड वेबसाइट स्याक्निल्कले जनाएको छ।
मारूति निर्देशित 'द राजा साब' हिन्दीसहित, तमिल, कन्नड, मलयालम संस्करण एकसाथ रिलिज भएको थियो।
फिल्ममा प्रभाससहित सञ्जय दत्त, बोमन इरानी, मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार, जरिना वहाबलगायत कलाकारहरूको अभिनय छ। यसअघि ‘बाहुबली’ जस्ता सुपरहिट फिल्ममार्फत हिन्दी दर्शकमाझ बलियो पकड बनाएका प्रभासका लागि 'द राजा साब' को असफलता ठूलो झड्का मानिएको छ।
यो फिल्म नेपालमा समेत प्रदर्शन भइरहेको छ। नेपालमा फिल्मले गत शनिबारसम्म १ करोड ६२ लाख रूपैयाँ कमाइ गरेको थियो। त्यसयताको विवरण सार्वजनिक भएको छैन।