दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिएका छन्। उनीहरूले बिहीबार भारतको उदयपुर सहरमा एक आत्मीय तथा गोप्य समारोहबीच विवाह सम्पन्न गरेका हुन्।
राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त निकट साथीभाइहरूको मात्र उपस्थिति रहेको बताइएको छ। विवाह बिहान १०ः१० बजे सम्पन्न भएको जनाइएको छ। समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ।
उनीहरूको विवाहका अधिकारिक तस्बिरहरु भने सार्वजनिक भइसकेको छैन।
रश्मिका र विजयले आफ्नो वैवाहिक समारोहलाई 'विरोश' नाम दिएका छन्, जुन उनीहरूका नामको संयोजनबाट बनेको हो। लामो समयदेखि सम्बन्धमा रहेका यी दुई कलाकारको विवाहको चर्चा चलिरहेका बेला उनीहरूले केही दिनअघि सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रश्मिका र विजयको जोडीलाई शुभकामना व्यक्त गरेका छन्।
रश्मिका र विजयले सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म 'गीता गोविन्दम' र सन् २०१९ मा 'डियर कमरेड' मा संगै अभिनय गरेका थिए। ती फिल्ममा उनीहरूको अभिनय र केमेस्ट्रि दर्शकहरूले अन्त्यन्त रूचाएका थिए।