बलिउड अभिनेत्री दीपिका पादुकोण दोस्रोपटक गर्भवती रहेकै अवस्थामा पनि काममा सक्रिय रहेकी छन्। उनी अहिले आगामी फिल्म 'राका' को छायांकनमा व्यस्त छिन्।
भारतीय संचारमाध्यमका दैनिक भास्करका अनुसार दीपिकाले गर्भावस्थामै फिल्मका एक्सन दृश्यसमेत छायांकन गरिरहेकी छन्। निर्माण टिमले उनको स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानीका साथ छायांकन गरिरहेको बताइएको छ।
'राका' मा दीपिका दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनसँग देखिनेछिन्। यस फिल्ममा उनको भूमिका शक्तिशाली र एक्सनले भरिपूर्ण रहेको बताइएको छ। फिल्मलाई निर्देशक एटलीले निर्देशन गरिरहेका छन्।
दीपिकाले आइतबार मात्रै आफ्नी छोरी दुआको फोटो सेयर गर्दै आफू गर्भवती रहेको घोषणा गरेकी थिइन्। दीपिका र रणवीर सिंहले सन् २०२४ मा पहिलो सन्तानका रूपमा छोरीलाई स्वागत गरेका थिए।