बलिउड अभिनेत्री दीपिका पादुकोण गर्भावस्थाकाबीच पनि छायांकनमा सक्रिय देखिएकी छन्। उनी हाल अभिनेता शाहरूख खानसँग फिल्म 'किङ' को छायांकनका लागि दक्षिण अफ्रिकाको केप टाउनमा छिन्।
सामाजिक सञ्जालमा हालै फिल्मको सेटबाट केही तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा दीपिका र शाहरूख हात समातेर हिँडिरहेको देखिन्छ। यी तस्बिरहरू सार्वजनिक भएसँगै तीव्र रूपमा भाइरल भएका छन्।
तस्बिरमा दीपिका फूलदार गाउनमा देखिएकी छन् भने शाहरूख प्रिन्टेड सर्टमा स्टाइलिस रूपमा प्रस्तुत भएका छन्। उनीहरू वरिपरि फिल्मको टोली पनि देखिन्छ, जसले छायांकन चलिरहेको संकेत गर्छ। रिपोर्टअनुसार, यी दृश्यहरू सम्भवतः गीतको छायांकनका हुन्।
तस्बिर सार्वजनिक भएसँगै फ्यान तथा शुभचिन्तकहरूले कलाकारहरूको केमेस्ट्रि र लुकको खुलेर प्रशंसा गरेका छन्। दीपिकाले हालै आफ्नो दोस्रो गर्भावस्थाको घोषणा गरेकी थिइन्, तर त्यसका बावजुद पनि उनी काममा निरन्तर सक्रिय देखिएकी छन्।
सिद्धार्थ आनन्द निर्देशित 'किङ' मा दीपिका र शाहरूखसहित सुहाना खान, अभिषेक बच्चन, अर्शद वारसी र जयदीप अहलावत पनि मुख्य भूमिकामा छन्।
रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सद्वारा निर्मित यो फिल्म २४ डिसेम्बर २०२६ मा सिनेमाघरहरूमा रिलिज हुने तालिका छ।
फिल्मलाई निर्माण घोषणादेखि नै बहुप्रतीक्षित मानिएको छ।