दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म 'फौजी' युनिटको गाडी दुर्घटनामा परेको छ।
हैदराबाद नजिकै भएको सडक दुर्घटनामा फिल्म युनिटका एक सदस्यको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। घटनापछि फिल्मको छायांकन तत्कालका लागि रोकिएको छ।
बलिउड हंगामाको रिपोर्टअनुसार फिल्म युनिटको गाडी मंगलबार रामोजी फिल्म सिटीतर्फ जाँदै गर्दा हैदराबाद-विजयवाडा राजमार्गको अब्दुल्लापुरमेट नजिक दुर्घटनामा परेको हो।
गाडी अनियन्त्रित भएर सिमेन्टको डिभाइडरसँग ठोक्किँदा एक क्रु सदस्यको घटनास्थलमै मृत्य भएको बताइएको छ। दुर्घटनामा घाइते भएका पाँच जनालाई तुरून्तै नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
स्थानीय प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ। प्रारम्भिक अनुसन्धानमा गाडीको तीव्र गति र चालकले नियन्त्रण गुमाएको कारण हुन सक्ने आशंका गरिएको छ। तर प्रहरीले सबै कोणबाट घटनाको छानबिन जारी राखेको जनाएको छ। दुर्घटना चाउटुप्पल प्रहरी चौकी क्षेत्रअन्तर्गत टूप्रानपेट ब्रिज नजिक भएको हो।
दुर्घटनापछि निर्देशक हनु राघवपुडी र निर्माण पक्षले फिल्मको छायांकन अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्। हालसम्म निर्माण टिमले आधिकारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन।
'फौजी' को छायांकन करिब ८० प्रतिशत पूरा भइसकेको छ। केही ठूला एक्सन दृश्यहरू मात्र बाँकी रहेको जनाइएको छ। यो पिरियड एक्सन ड्रामामा प्रभासले सैनिकको भूमिका निभाएका छन्।
फिल्ममा मिथुन चक्रवर्ती, जया प्रदा र अनुपम खेरको पनि महत्वपूर्ण भूमिका रहेको छ।