नीम करोली बाबाको जीवनमा आधारित भारतीय फिल्म 'हनुमान अंश'ले विश्वभर ३५० करोड भारूभन्दा बढीको कमाइ गरेको छ।
मात्र २ करोड भारूको बजेटमा बनेको फिल्मले प्रदर्शनको ४६ औं दिनसम्ममा ३५२ करोड भारूको विश्वव्यापी ग्रस कलेक्सन गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। उक्त कमाइ बजेटको १७६ गुणा हुन आउँछ।
फिल्मले सुरूआती दुई साता भने निकै कमजोर व्यापार गरेको थियो। १० लाख भारूको ओपनिङ गरेको फिल्मले पहिलो दुई सातामा जम्मा १ करोड ५० लाख भारू कमाएको थियो। त्यसपछि सकारात्मक ‘वर्ड अफ माउथ’का कारण दर्शक बढ्दै गएपछि फिल्मको व्यापारले गति लिएको हो।
भारतमा फिल्मले २७६ करोड भारू नेट (३२६ करोड भारू ग्रस) कमाएको छ। यससँगै 'हनुमान अंश' सन् २०२६ मा भारतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ।
विदेशी बजारमा भने फिल्म केही ढिला रिलिज भएको थियो। होम्बले फिल्म्सले यसै महिनाको सुरूआतमा फिल्मको विश्वव्यापी वितरण अधिकार लिएपछि विदेशी बजारमा प्रदर्शन सुरू गरिएको थियो। तीन सातामा फिल्मले विदेशी बजारबाट २.८ मिलियन अमेरिकी डलर कमाएको समाचारमा उल्लेख छ।
विश्वव्यापी कमाइमा फिल्मले थलापति विजयको 'जन नायकन' (३२४ करोड), यशको ‘टक्सिक’ (३४१ करोड) र रामचरणको 'पेड्डी' (३४२ करोड)को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ।
विशाल चतुर्वेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा शोभिनव सत्याले मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्मले आमाको निधनपछि ईश्वरको खोजीमा आध्यात्मिक यात्रामा निस्कने लक्ष्मीनारायणको कथा प्रस्तुत गर्छ। यात्राका क्रममा उनी जीवन, मृत्यु र मानव पीडाका प्रश्नको उत्तर खोज्दै अन्ततः नीम करोली बाबा बन्न पुग्छन्।
यो फिल्म नेपालमा समेत प्रदर्शनरत छ।