बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा बिहीबार निधन भयो। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले हिन्दी र मराठी फिल्ममा आफ्नो छुट्टै पहिचान बनाए। पाटेकरको बिहीबार नै राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको थियो।
उनको निधनसँगै अभिनय यात्रा टुंगिए पनि उनले अभिनय गरेका पाँच फिल्म भने प्रदर्शन हुन बाँकी छन्।
इन्डिया टुडेको रिपोर्टअनुसार उनका 'शक्ति शालिनी', 'इथा', 'द कन्फेसन अफ मेरी', 'कुकु की कुण्डली' र 'वेदान्त' प्रदर्शन हुन बाँकी फिल्म हुन्।
शक्ति शालिनी
आदित्य सरपोतदार निर्देशित 'शक्ति शालिनी' म्याडक फिल्म्सको हरर कमेडी युनिभर्सअन्तर्गतको फिल्म हो। यसमा अनीत पड्डा र विशाल जेठवालको पनि अभिनय छ। फिल्ममा सामान्य महिलाले प्रतिशोधी आत्मा शालिनीको रक्षक बन्नुपर्ने कथा छ। नाना पाटेकरले आफ्नो भागको छायांकन पूरा गरिसकेका थिए। फिल्मको प्रदर्शन मिति डिसेम्बर २४, २०२६ लाई तय गरिएको थियो।
अब भने फिल्मको मिति केही परिवर्तन हुनसक्ने बताइएको छ।
इथा
लक्ष्मण उतेकर निर्देशित 'इथा'लाई महाराष्ट्रकी चर्चित लोककलाकार विठाबाई नारायणगाउँकरको जीवनबाट प्रेरित बायोपिक भनिएको छ। फिल्ममा श्रद्धा कपुर मुख्य भूमिकामा छिन् भने रणदीप हुड्डा, नाना पाटेकर पनि देखिनेछन्।
फिल्म डिसेम्बर ४, २०२६ मा प्रदर्शन हुने तालिका छ। यसमा नाना पाटेकरको भूमिकाबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन।
द कन्फेसन अफ मेरी
अनन्त नारायण महादेवन निर्देशित 'द कन्फेसन अफ मेरी' मा पनि नाना पाटेकरले अभिनय गरेका छन्। क्राइम थ्रिलर जनराको फिल्ममा नाना पाटेकरले फादर बेनेडिक्ट नामका क्याथोलिक पादरीको भूमिका निर्वाह गरेका छन्, जसलाई एक महिलाको हत्याको आरोप लाग्छ। फिल्म टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनका लागि छनोट भएको थियो।
कुकु की कुण्डली
शरण शर्माको निर्देशित 'कुकु की कुण्डली' रोमान्टिक कमेडी फिल्म हो। यसमा भुवन बाम र वामिका गब्बीसँगै नाना पाटेकर पनि देखिनेछन्। कुण्डलीका कारण एक जोडीको सम्बन्ध र उनीहरूका परिवारबीच समस्या उत्पन्न हुने कथामा फिल्म आधारित रहेको बताइएको छ। फिल्मको प्रदर्शन मिति भने सार्वजनिक भएको छैन।
वेदान्त
राजेश्वर पाण्डे राज निर्देशित 'वेदान्त'मा नाना पाटेकरसँगै विक्रान्त मेसी, सन्दीपा धर र मुकेश तिवारीको अभिनय छ। फिल्मको कथावस्तु, पाटेकरको भूमिका र प्रदर्शन मितिबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन।
यी पाँच फिल्मले नाना पाटेकरलाई उनको निधनपछि पनि दर्शकमाझ पर्दामा उपस्थित गराउनेछन्। उनको रिलिज पछिल्लो फिल्म भने 'ओ रोमियो' हो।