बलिउड फिल्म 'रामायण' ले नेपाली बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको छ।
फिल्मले नेपालमा २४ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको हो।
नेपालमा फिल्मको वितरक एप्पल इन्टरटेन्मेन्ट स्रोतका अनुसार बिहीबार बेलुकीसम्म 'रामायण' ले २४ करोड ५५ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ। यस अवधिसम्म फिल्मका ६ लाख ७ हजार टिकट बिक्री भएका छन्। योसँगै 'रामायण' नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।
नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्मको शीर्षस्थानमा भारतीय फिल्म 'पुष्पा २' छ। सार्वजनिक विवरण अनुसार यसले नेपालमा २६ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको थियो।
'रामायण'को व्यापार अझै उत्साहजनक रहेकाले यसले 'पुष्पा २'को रेकर्ड तोड्दै नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको कीर्तिमान बनाउन सक्ने देखिएको छ। विश्वव्यापी बक्सअफिसमा पनि 'रामायण'ले ठूलो कमाइ गरिरहेको छ।
प्रदर्शनको १४ दिनमा फिल्मले विश्वभर १ हजार ५१९ करोडभन्दा बढी भारू कमाइ गरेको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूरले राम, यशले रावण र साई पल्लवीले सीताको भूमिका निर्वाह गरेका छन्। फिल्ममा अन्य चर्चित कलाकारहरूको पनि अभिनय छ।
फिल्म नेपालमा पनि एकै दिनदेखि प्रदर्शनमा आएको थियो।