दाङमा जन्मे-हुर्केकी लेखक लीला शर्मा 'अस्मिता'को पुस्तक 'युद्ध लडेँ, क्यान्सर जितेँ' शनिबार दाङको घोराहीमा लोकार्पण गरिएको छ।
जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि यही शरद याममा चिठी पुर्याइदिने बहानामा आफू माओवादी आन्दोलनमा जोडिएको स्मरण गर्दै शर्माले पुस्तक लोकार्पणका लागि घोराही रोजेको बताइन्।
'जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु। यी दौरानमा दुइटा लडाइँ लडियो। एउटा युद्ध र अर्को क्यान्सर। जे देखेँ, भोगेँ, त्यही लेखेकी छु' शर्माले भनिन्, 'युद्धकालभरि म धेरै डायरी लेख्थेँ। अझै धेरै डायरी जोगाएर राखेकी छु। आफ्नो कथा आफैं लेख्नुपर्छ भन्ने लागेर पुस्तक लेखेकी हुँ।'
लोकार्पण कार्यक्रमका प्रमुख अतिथि ९६ वर्षीय सक्रिय पत्रकार तथा लेखक नारायणप्रसाद शर्माको उपस्थिति र मन्तव्यले सहभागीको ध्यान खिचेको थियो।
दाङमा 'नयाँ युगबोध' दैनिक सञ्चालन गरेका पत्रकार शर्माले लीलाको पुस्तकले आफूलाई नयाँ युगबोध गराएको महसुस गरेको टिप्पणी गरे। उनले दाङबाट बलियो लेखकको जन्म भएको धारणा राखे।
समालोचक तथा कवि अमर गिरीले पुस्तकबारे टिप्पणी गर्दै माओवादी विद्रोहबारे लेखिएका पुस्तकहरूलाई तीन धारमा वर्गीकरण गरे। उनका अनुसार केही पुस्तकले विद्रोहको अँध्यारो पाटोलाई मात्र प्रस्तुत गरेका छन् भने केहीले उज्यालो पक्षलाई मात्र। उनले तेस्रो धारका पुस्तकले भने विद्रोहका अँध्यारा-उज्याला दुवै पक्षलाई यथार्थ रूपमा प्रस्तुत गर्ने बताए।
गिरीले 'युद्ध लडेँ, क्यान्सर जितेँ'लाई यथार्थ पस्किएको सुन्दर र पठनीय संस्मरणका रूपमा व्याख्या गरे।
दाङमा २०१० सालमै स्थापना भएको सर्वोदय पुस्तकालयका अध्यक्ष तथा पठन संस्कृति प्रवद्र्धक सुशील गौतमले लीलाको लेखनले आफूलाई आकर्षित गरेको बताए।
'हिजो मात्र आफूले प्राप्त गरेको पुस्तक केही पाना पढ्छु भनेर साँझमा सुरू गरेको थिएँ, तर किताबले यस्तरी तान्यो कि अहिले बिहानसम्म मैले लगभग पूरै पढिसकेँ,' उनले भने।
पत्रकार महासंघ दाङको सभाहलमा करिब दुई सय जना सहभागीबीच लेखक लीला शर्मासहित अग्रज पत्रकार तथा लेखक नारायण शर्मा, समालोचक तथा कवि अमर गिरी, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम तथा नेपालयका सम्पादक विमल आचार्यले पुस्तक लोकार्पण गरेका थिए।
पब्लिकेसन नेपालयले प्रकाशन गरेको पुस्तक २३६ पृष्ठको छ। यसको मूल्य ५७५ रूपैयाँ तोकिएको छ। पुस्तक आइतबारदेखि देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध हुने जनाइएको छ।
थुप्रैडटकम र अमेजनमार्फत पनि पुस्तक अनलाइन खरिद गर्न सकिनेछ।