धेरै दुःख र केही सम्भावनाले बुनिएको एउटा कलात्मक पिरामिडको नाम हो— डङ्की।
यो नवीन उपन्यासका लेखक हुन्— डा. चन्द्र गिरी।
यसमा दुःख, अभाव, पीडा, त्रासदी र निराशाहरूको चाङैचाङ एकपछि अर्को अझ विकराल रूपमा ठड्याएको छ।
सुन्दर सपनाको देश भनेर चिनिने अमेरिका पुगेर आफूलाई सुखी र सम्पन्न पार्ने प्रयत्नमा लागिरहेको एउटा नेपालीको कथालाई उपन्यासकारले आफ्नो भावभूमि बनाएका छन्।
इलामको सलकपुरमा जन्मेर त्यही गाउँको शिक्षण पेसामा संलग्न पशुपति, जसको आर्थिक अवस्था त्यत्रो दयनीय हुँदैन र पनि ऊ अझ सम्पन्न बन्ने रहर र लहड बोकेर आफ्नो सुन्दर घरपरिवार त्यागी पाताल भासिन तयार बन्छ।
बिना कागजात अवैधानिक तरिकाले पाताल भासिँदाको मूल कहानीलाई प्रमुख रूपमा यो उपन्यासले समेटेको छ। सुख खोज्न हिँडेका पाइतालाहरूमा जताततै काँडै काँडा टेकेर यात्रा गर्नुपर्ने परिस्थिति छ। शारीरिक दुःख त छँदैछ, मानसिक आघात पनि उत्तिकै भोगेर अघि बढिरहेको कथावस्तुलाई औपन्यासिक रूप दिएर जीवन्त बनाइएको कहानी नै डङ्की हो।
मुनामदनमा महाकवि देवकोटाले मुनालाई सुनको माला लगाइदिने लालसाले मदनलाई ल्हासा पठाइदिन्छन्। मुग्लान नामक कृतिमा गोविन्दराज भट्टराईले सुतार कान्छालाई भूटान पठाउँछन्।
कृष्ण धरावासीको तल्लो बाटोमा नेपाली युवालाई अमेरिका नै पठाउँछन्। प्रतिरूपमा डा. खगराज बरालले (कोइलाखात) भारतको मेघालयतिर काममा पठाएर खसियासँग नायक प्रवीनलाई बसोबास गराउँछन्।
खेमराज पोखरेलले नागफणी उपन्यासमार्फत् रूकुम जिल्लाको सिम्लीभीरका रामबहादुर केप्छाकीलाई तल्लो बाटोबाट अमेरिका गएको भयानक र दर्दनाक यात्राको अनुभव पस्कन्छन्।
त्यसैगरी पदम विश्वकर्माले पातालमार्फत् यिनै विषयवस्तुलाई अगाडि बढाएको देखिन्छ। आखिर ती सबै पात्र र चरित्रहरू सम्पत्ति कमाउन गएका नेपालीहरू हुन्।
उनीहरू कोही देश फर्कन्छन्, कोही फर्कँदैनन्, कोही फर्के पनि घायल, अशक्त र बेकामे भएर फर्कन्छन्। कसैको जीवनलीला उतै समाप्त हुन्छ। परिवेश, भूगोल र भावभूमिहरू फरक भए पनि सम्पन्नता खोज्ने समान उद्देश्य प्रायः सबै कृतिमा सन्निहित रहेका छन्।
लाग्छ— डङ्की क्रूरता, निर्दयताको अभूतपूर्व र भयानक वर्णन हो।
जीवन सङ्घर्ष हो, कठिनभन्दा कठिन परीक्षा दिन हामी सबै तयार हुनुपर्छ भन्ने सन्देश उनले यसमा प्रवाह गरेका छन्।
डङ्की रूटको अकल्पनीय तथा कठोर यात्रा विवरणले हामीमा करूणा जगाउँछ, जहीँतहीँ त्रासदी उत्पन्न गराउँछ। बाटोमा जत्तिनै अवरोध भए पनि, अनिच्छुक भए पनि अब नायक पशुपति (पस्पते) पछाडि फर्कन झनै सक्दैन। भएको राहदानी पनि उसको आफ्नै हातले च्यात्न विवश भइसकेको हुन्छ।
भाग्यले मर्दै, बचाउँदै, लड्दै, तङ्ग्रिँदै, रुँदै, हाँस्दै, आशा अनि निराशामा अन्ततः ऊ एक मात्र अभेद्य लक्ष्य लिएर गन्तव्य नापिरहन्छ, नापिरहन्छ। सम्भावना नै सम्भावनाको देश पुग्ने लालसालाई अगाडि बढाइरहन्छ।
विरानो देशमा रमाउन जाने आँट गर्नु नेपालीहरूको साहस हो कि दुस्साहस?
म द्विविधामा परेको छु।
यो उपन्यासको नायक पस्पतेले यात्रामा पाएको दुःखको वर्णनले पाठकको आङै सिरिङ्ग पार्ने सामर्थ्य राख्दछ।
उपन्यासकार डा. चन्द्र गिरीले दिनुसम्म दुःख दिएका छन् उपन्यासको नायक पस्पतेलाई।
सायद त्यसैले ऊ एक ठाउँमा भन्छ— ‘अरू कोही नेपालीले यस्तो पीडा खप्नु नपरोस्। यो कठिन यात्रा, यो भोगाइ मेरा लागि मात्र होस्। अरू कसैले यो दुःख झेल्नु नपरोस् (पृ.१७७)।’ कति महान् वाक्य बोल्छ ऊ।
ठगिनु, लुटिनु, चुटिनु पस्पतेको नियति हुन्छ, दिनचर्या हुन्छ। संसारकै सबैभन्दा खतरनाक मार्गका रूपमा चिनिने ड्यारियन ग्यापको हिँडाइ, खतरनाक जङ्गली जनावरको सन्त्रास, विषालु बोथ्रोप्स सर्पको भय, यात्रामा मार्ग हराउने वा अलमलिने सम्भावना, आदिवासीहरूसँग गर्नुपर्ने बोली र व्यवहारमा अनभिज्ञता, खोलाको बाढी, ड्रग्सका आपराधिक गिरोहसँग मुठभेड, ठाउँठाउँका आतंककारी समूहका खतरनाक जम्काभेट, लुटेराहरूबाट सदैव त्राहीमाम बनेर हिँड्नुपर्ने विषम परिस्थितिहरू साँच्चिकै नर्ककै यात्रा गराइरहेको महसुस हुन्छ।
यही बीचमा उसकी आमाको निधनले ऊ कति मर्माहत बन्न पुग्छ र पनि सबै सहेर अगाडि बढ्न विवश बन्छ। मानौँ ऊ एकपछि अर्को खतरनाक युद्ध जिते जसरी अगाडि बढिरहेको छ।
उपन्यासका लागि ज्यादै पुरानो र जीर्ण भइसकेका विषयहरू त्यति प्रभावकारी हुँदैन।
अतः नवीन विषयवस्तुको चयन गर्न उपन्यासकार सजग र जागरुक देखिएका हुन् भन्ने लाग्दछ। यस परिवेशमा डा. चन्द्र गिरी कहीँ कतै चुकेका छैनन्।
काठमाडौंबाट दिल्ली, अबुधाबी, मस्कोहुँदै म्याड्रिड पुगिसकेको नायक ट्रान्जिटमा आफ्नै भुलले गर्दा बाहिर निस्केपछि त्यहाँको प्रहरीले पक्रिएर जेलमा लगेर केही दिन राख्न पुग्छन् र अन्ततः उसलाई नेपाल फर्काइदिन्छन्।
हुँदा खाँदाको राम्रो र सम्मानित पेसाको मास्टरी जागिर छाडेर ऋण काढ्दै अमेरिका हिँडेको यात्री यसरी बीच बाटैबाट नेपाल फर्कदाको पीडा कस्तो भयो होला?
यस बीच नायक पस्पतेभित्र मडारिएका भावनाहरू ज्यादै पीडादायी छन्। पचास लाख ऋण काढेर अमेरिका जाँदैछु भनेर गाउँसमाजमा धाक जमाएर हिँडेको व्यक्ति अन्ततः फर्किएर नेपाल नै भित्रिनु भनेको वास्तवमै दुःखदायी क्षण थियो। यो धेरै नेपालीहरूको वास्तविक दारुण कथा नै भएको छ। जसलाई पस्पतेमा उनले रूपान्तरित गराए।
नेपालमा उत्रिएपछि आफ्नो घरपरिवारलाई यसको जानकारी नदिई सिधै एजेन्टसँग कुरा गर्न थाल्छ।
अन्ततः उसले थप दुई लाख दिएपछि अर्को प्रोसेसबाट उसलाई त्यसैगरी अवैधानिक बाटोबाट पुनः अमेरिका जाने व्यवस्था मिलाइन्छ। अब पस्पते नयाँदिल्ली हुँदै सिंगापुर, दुबई, अदिस अबाबा (इथियोपिया), ब्राजिल, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस र मेक्सिको हुँदै अमेरिका पुगेको दर्दनाक र आङै जिरिङ्ग पार्ने त्रासद यात्रा नै उपन्यासको क्लाइमेक्स हो भन्दा फरक पर्दैन।
उपन्यासका पात्रहरूले उपन्यासलाई रोचक र कौतुहलपूर्ण बनाएका छन्।
नाटकीय स्थितिको प्रादुर्भाव र विकासले उपन्यासलाई सशक्त र जीवन्त मात्र होइन, संवेद्यसमेत बनाउँछ। सङ्घर्षबाट खारिएका पात्रपात्राहरूको अझ महत्वपूर्ण र विशिष्ट भूमिका हुन्छ।
यहाँ मृत्युको मुखमा पर्दै निस्कँदै अर्थात् मृत्युलाई जितेर पस्पते अमेरिका पुग्छ।
भनिन्छ, संयोगान्तले भन्दा वियोगान्तले उपन्यासलाई बढी प्रभावकारी बनाउँछ। अन्त्यमा उपन्यास वियोगान्त बन्छ। यसले अझ करूणा थप्छ पाठकमा।
मानिस किन यति बिघ्न निर्दयी र क्रूर बन्न थाल्यो भन्ने कुरा यसमा राम्ररी देखाएका छन् उपन्यासकारले। बरू उनीहरू जङ्गली जनावर वा प्राकृतिक प्रकोपहरू जस्तो बाढीपहिरोबाट त्रसित हुन्नन् जति मानिसबाट।
यो कत्रो र कस्तो विडम्बना? उपन्यासमा लेखिएका कुराहरूभन्दा धेरै नलेखिएका कुराबाट अनुमान गर्न थाल्छन् पाठक। यस्तो गराउन सक्नु भनेको लेखकको ठूलो खुबी हो। यसमा चन्द्र गिरी सफल छन्। पाठक आफ्नै मनसँग धेरै कुराहरू संवाद गर्न पुग्छ, जीवन जगत् र यावत्का। कहिलेकाहीँ एकछिनको सानो निर्णयले पनि जीवनलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ भन्ने कुरा पनि यसले देखाएको छ। जसले गर्दा जीवनको मोड नै फरक पार्दछ।
उपन्यासमा यात्रा मात्र छैन। गाउँघरका चिया पसलमा हुने गफगाफको जीवन्त अनुभूतिलाई पनि सजिलै उतारिएको छ (पृ.२२), सेलरोटी पकाउँदा त्यसबाट आएको धूवाँको परिवेश पनि जीवन्त देखाइएको छ। नेताहरूको दोहोरो चरित्र रामचन्द्र आसेङ (पृ.२९) एउटा प्रतिनिधि पात्र हुन् हाम्रै गाउँसमाजका। वर्तमान गाउँको दारुण र यथार्थ कथा (पृ.२३) जहाँ बुढा बाआमा र केटाकेटी मात्र बस्न बाध्य छन्। सहरका बोर्डिङ स्कुल र गाउँका सरकारी स्कुलमा हुने पढाइमा हुने विभेदका कुराहरू (पृ.३४) उल्लेख हुनुले आफ्नै देशभित्रका पनि जल्दाबल्दा समस्याहरू उठाउन उनी पछि परेका छैनन्।
उपन्यास पढ्दा मैले हरिभक्त कटुवालको कविता सम्झें:
खुकुरीको धारमा टाउको राखेर निदाउनु पर्छ यहाँ,
आँखा खोल्न पनि जग्जगी आँखा चिम्लन पनि जग्जगी...।
यस्तो जीवन टेकेर हिँडिरहेको बिचरो निरीह एक नेपाली यात्री— पस्पतेसँगै यो यात्रामा सयौँ हामी नेपाली पाठकहरू पनि यात्रारत हुन्छौं। हामीलाई हाई काढ्ने फुर्सद दिँदैनन् उपन्यासकार, न त बरालिन नै दिन्छन्। दुईचार पन्ना पल्टाएर छिटो सक्नुपर्ने परिस्थिति भन्दा पनि बरु उल्टै एकदुई लाइन पढ्दापढ्दै छुट्यो कि भनेर आँखा तिखार्नुपर्ने स्थिति। पाठक दिक्क मान्दै मान्दैन। बरु कामना गर्छ— हे भगवान् पस्पते छिट्टै र सकुशल अमेरिका पुगोस्। उसले काढेको ऋण कमाएर छिटै तिर्न सकोस्।
आख्यानलाई बोझिलो नबनाइए पनि अमेरिका पुगेपछिको उसको दिनचर्या त्यति प्रभावकारी हुँदैन, जति कालबाटोको यात्रा चोटिलो र सार्थक देखिन्छ। यसको लेखाइ कसिलो र यथार्थ लागे पनि सर्सर्ती हेर्दा ठिकठिक ठाउँमा उसले भने जसरी एजेन्ट भेटिनु, पैसा लुटिए पनि फेरि हिँड्न र खान पाउनु जस्ता केही कुराहरू अस्वाभाविक पनि लाग्छन्।
त्यसैगरी आख्यानमा कहीँ कहीँ गीत मिसाइएको छ, यो किन गर्नु परेको होला? प्रयोगको नाममा के जे पनि गर्न मिल्छ?
हुन त आजकाल जेमा पनि विधा भञ्जन देखाउन खोजिन्छ, सायद त्यही हो कि? त्यसै गरी नायक अमेरिका पुगेपछि केही शिथिल कथावस्तु, असम्बद्ध घटनाक्रमहरू पनि नपाइने होइनन्। जसको खास कुनै औपन्यासिक महत्त्व र मूल्य पाइँदैन। तर झिनो तन्तु बुनेर त्यही धागोको माध्यमलाई समात्दै मूलकथावस्तुसँग उपकथा जोडेर उपन्यासलाई गतिशील बनाउन सक्नु डा. चन्द्र गिरीको सफलता र चातुर्य हो।
यसले एकातिर उपन्यासलाई विविधतापूर्ण बनाएको छ भने अर्कातिर विविध देशको जानकारी र त्यहाँका चालचलन थोरथोरै भए पनि पाठकलाई राम्ररी नै चखाएका छन्। यस हिसाबले भन्नु पर्दा यसलाई आप्रवासी आख्यानको नाम दिन पनि सकिन्छ। सरल शब्द र शैलीमा ससाना वाक्यहरूको निर्माणले उपन्यासलाई पठनीय र सुबोध बनाएको छ। अझ कतै कतै त नियात्रा शैलीमा समेत बगेको महसुस हुन्छ।
गाँस छुटोस् साथ नछुटोस् भन्ने नेपाली आहानलाई यहाँ बडो निर्मम भएर पस्पतेले त्यस्तो जोखिमपूर्ण यात्रामा सहभागी भएर आएका आफ्ना अभिन्न नेपाली मित्रहरू बिर्खे र पण्डित बाजेलाई त्यागेर आफूमात्र अगाडि बढेको कारुणिक चित्र पनि उनले देखाएका छन्।
यात्रामा भिन्नभिन्न देशका मानिसहरूसँगको सहयात्रा देखिन्छ। निश्चित् उद्देश्य बोकेर एउटै गन्तव्य ताकेर हिँडेपछि उनीहरू सबैले सबैसँग मन र भावले कुराकानी गरिरहन्छन्। भाषा नमिले पनि भावना मिल्नु पर्दछ भन्ने सन्देश पनि यसले प्रवाह गर्न खोजेको छ।
यात्रामा उनीहरू एकापसको खानेकुराहरू बाँडेर खाइरहन्छन्, आआफ्ना भावनाहरू बाँडेर दुःखसुखका कुरा सङ्केतमै भए पनि गर्छन्। सुखमा हाँस्ने हाँसो एउटै हो र दुःखमा रुने आँसु पनि त एउटै हो भन्ने भाव यहाँ सम्प्रेषण गरेर हिँडेको कुरा बडो रमाइलो लाग्दछ।
एकछिन भेट भएकी मारिया अर्को रमाइलो र विस्मयपूर्वक देखिने पात्रा हुन् यो उपन्यासमा।
उनी केही समय पश्चात् आफैँ हराउँछिन्। तर पनि उनीसँगको भेटलाई पाठकले रमाइलो पात्रका रूपमा हेरेका हुन्छन्। मारिया आफ्नी अबोध छोरी इजाबेलालाई लिएर त्यो कष्टकर यात्रा गर्न तम्सिएकी एक बहादुर महिला हुन्।
यात्राका क्रममा एक ठाउँमा आएको खोलाको बाढी तर्ने क्रममा मारियाकी छोरीलाई बगाउँछ। यता पस्पते पनि नदी तरिरहेको हुन्छ। एउटी महिलाले कोकोहोलो गरेर चिच्याउँदै छोरीलाई बचाउन हारगुहार गरेको उसले देख्छ। हिन्दी सिनेमाको नायक झैँ आफ्नो ज्यानसमेत जोखिममा राखी नदीबाट उसले त्यो सानी नानीलाई जीवित निकालेर बहादुरी प्रदर्शन गर्न पुग्छ।
छोरी बचाएको साहसिक कामले गर्दा उक्त महिला मारियाले नायक पशुपतिलाई भगवान् नै सम्झिन पुग्छिन्। अझ त्यति मात्र होइन, बाटोमा लुटेराहरूले तिनै मारियालाई बलात्कार गर्न खोज्दा बहादुर नेपालीहरू मिलेर त्यसलाई पिटेर उनलाई जोगाउँछन्। त्यहाँबाट उनीहरूबीच नजानिँदो प्रेमभाव अङ्कुरित हुन पुग्छ यात्रामा।
उपन्यासको यात्रा धेरै लामो बाटो हिँड्नुपर्ने हुँदा त्यसका सम्पूर्ण सरसामग्रीहरू सातुसामलको जोहो गरेर मात्र लेखकको कलमले पाइला र पाइतो सार्नुपर्ने हुन्छ। त्यसैले यो जिम्मेवारीपूर्ण लेखन हो।
डा. चन्द्र गिरीले त्यसको पूर्वतयारी अति सूक्ष्म र सावधानीपूर्वक गरेर अगाडि बढेको देखिन्छ। यसका लागि उनले तत् तत् स्थानमा स्वयं पुग्ने र सम्बन्धित स्रोत व्यक्तिहरूसँग धेरै पटक साक्षात्कार गरेको कुरा पुस्तकबाटै अवगत गर्न सकिन्छ।
उनी एक लेखक मात्र नभएर बढी चाहिँ वैज्ञानिक र अनुसन्धाता नै हुन्। यस हिसाबले भन्नु पर्दा उपन्यासमा तथ्यगत विवरणहरू पनि भरमार देखिन्छन्। उपन्यासलाई अनुसन्धानात्मक बनाउन सक्नु अझ महत्वपूर्ण प्राप्ति हो।
वर्तमान नेपाली समाजको विदेश पलायन हुने प्रवृत्तिलाई उनले सजग, सतर्क र जिम्मेवारीपूर्ण बनाउन खोजेको देखिन्छ। लेखनीमार्फत् आएको यो कृति र प्रयास हाम्रो लागि उनले दिएको ठूलो योगदान हो। समाज र राष्ट्रका प्रति गम्भीर उत्तरदायित्व बोध पनि हो।
प्रस्तुत उपन्यास केवल पाठकलाई रोमाञ्च पैदा गर्न मात्र लेखिएको देखिँदैन, राज्यलाई झक्झक्याउन खोजेको देखिन्छ। राज्यका नीतिनिर्माताहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता देखिन्छ। यस्तो गहन विधामा हात हालेर साहित्यिक, बौद्धिक र प्राज्ञिक चक्चक गर्न सदैव तत्पर रहने स्रष्टा, सर्जक, वैज्ञानिक, खोज अनुसन्धानकर्ता डा. चन्द्र गिरीका आगामी दिनहरू अझ सबल, सकारात्मक र सिर्जनशील बनून्।
यस्ता सक्रियताहरूले निरन्तरता पाइरहोस्, हार्दिक शुभेच्छा र शुभकामनासहित।