गुड फ्राइडे सिनेमा
दोस्रो विश्वयुद्धमा हार बेहोरेपछि इटालीले युद्धको शोक, गरिबी र त्यसले सिर्जेको बेरोजगारीसँग जुध्नुपरेको थियो। युद्धपछिको समयमा इटालीका धेरै सिर्जनशील सिनेकर्मीले यही अवस्थालाई फिल्मको विषय बनाए।
यही क्रममा नवयथार्थवादी इटालियन फिल्महरू जन्मिए। नवयथार्थवादी धारका केही खास विशेषता थिए, जसकारण इटालियन फिल्मले संसारभरका दर्शक कमाउन सफल भयो। समीक्षकहरूको नजरमा पनि उत्तिकै योग्य ठहरियो।
विश्व सिनेमामा इटालीको अलग शैली र त्यसकै जगमा बनेको पृथक पहिचान छ। अस्कर, कान र अन्य ठूला मानिने महोत्सवहरूमा इटालियन फिल्मकर्मीको दबदबाले पनि यो कुरा पुष्टि गर्छ।
कथाले मात्रै फिल्म राम्रो बन्दैन। फिल्म कुन सन्दर्भमा कसरी बनाइएको छ भन्नेले पनि उत्तिकै अर्थ राख्छ। फिल्मलाई सार्थक रूपमा समाजको प्रतिविम्ब बनाउन त्यस चरणका निर्देशक कृत्रिम सेटबाहिर निस्केर आमजीवनको नजिक पुगे। गैरव्यावसायिक कलाकारलाई नै पर्दामा उतार्न थाले।
प्रकाश र ध्वनिमा पनि प्राकृतिक पक्षलाई जोड दिन थालियो। पर्दामा देखिने कुरा अब टाढाको कल्पना नभएर दैनिक जीवनकै हिस्सासरह नजिक महसुस हुन थाल्यो।
यस्तै एउटा फिल्म हो 'बाइसाइकल थिभ्स'।
भित्तेरियो दि सिकाले निर्देशन गरेको बाइसाइकल थिभ्स संसारका राम्रा फिल्मको सूचीमा नछुट्ने नाम हो। संसारभरका यथार्थवादी फिल्ममा यसको प्रभाव कहीँ न कहीँ परेको छ भन्नु अत्युक्ति नहोला।
एन्तोनियो रिची, मारिया र ब्रुनो पात्रको वरिपरि घुमेको छ फिल्म। जागिरको खोजीमा भौंतारिरहेका एन्तोनियो रिचीले काम त पाउँछन्, तर यसका लागि उनीसँग साइकल हुनु अनिवार्य छ। साइकल नभए यो काम अरूले खोस्ने भएकोले उनी यो समस्या आफ्नी श्रीमतीलाई सुनाउँछन्।
मारिया रिसाउँदै भए पनि घरका केही तन्नाहरू बेचेर साइकल किन्ने पैसा जोहो गर्छिन्। फिल्मको पोस्टर टाँस्ने काम पाएको घरमा साइकल आएको दिन उनीहरूका छोरा पनि निकै खुसी हुन्छन्। तर काममा गएको पहिलो दिनै एन्तोनियोको साइकल चोरी हुन्छ।
यसपछि एन्तोनियो र उनका छोरा साइकल चोरको खोजीमा लागी पर्छन्। फिल्मको मुख्य अंश त्यही चोरको खोजीमा बिताएका घटनाले ओगट्छ।
निर्देशकले दर्शकलाई यो साइकलको खोजी यात्रालाई मार्मिक तर रमाइलो ढंगमा देखाएका छन्। उनीहरूको यो यात्रामा इटालीको सहरी जीवनको झलक पनि सँगसँगै देखाइन्छ।
बुबा छोराबीचको संघर्ष, पीडा र प्रेमले जो कोहीलाई भावुक बनाउँछ। गैरव्यावसायिक कलाकार भए पनि उनीहरूको अभिनय जीवन्त छ। ब्रुनोको निर्दोष चरित्र झनै कायल बनाउने खालको छ।
निर्देशकले गरिब पात्रको कथा भन्ने क्रममा सहरका धनी वर्गका गतिविधिलाई दर्शकले आफै दाँज्न पाउने अवसर सिर्जना गरिदिएका छन्।
हराएको साइकल खोजीमा निस्केका यी पात्रले आफ्नो साइकल भेट्छन् कि भेट्दैनन्, थाहा पाउन हेर्नुहोस्, 'बाइसाइकल थिभ्स'।
हेर्नुस् युट्युबमाः