गायक यम बरालले आफ्ना ३ वटा नयाँ गीत एकसाथ सार्वजनिक गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच 'यो साँझ फेरी', 'जुन र सुनको' र 'टेण्डर माया' सार्वजनिक गरिएको हो।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ष्ठ, वरिष्ठ संगीतकार तथा प्राध्यापक दिपक जंगम, निर्देशक तथा कलाकार दीपाश्री निरौला, पत्रकार ऋषी धमलालगायतले गीत तथा भिडिओ सार्वजनिक गरेका हुन्।
सार्वजनिक तीनवटै गीतमा यम बरालको स्वर छ। 'यो साँझ फेरी' मा राखी गौचनको शब्द र शंकर थापा 'स्माइल' को संगीत छ। गीतको भिडिओमा केशव राज भट्टको निर्देशक, अमन बडुको छायाँकन, राकेश दाहालको सम्पादन र जुना कार्की र गायक बरालको अभिनय रहेको छ।
त्यस्तै, 'जुन र सुनको' मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ। गीतको भिडिओलाई गीतकार बरालले नै निर्देशन गरेका हुन् भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ। भिडिओमा विक्रम डिसीको छायाँकन र विकास धमलाको सम्पादन छ।
यस्तै अर्को गीत 'टेण्डर माया' मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ। नितिन चन्दले निर्देशन गरेको भिडिओमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयंको अभिनय छ। नमित चन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडिओमा मनोज केसीको छायाँकन र शुकुन तिमल्सिनाको सम्पादन छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गायक यम बरालले लामो समयपछि आफू मुलधारको संगीतमा फर्किएको बताएका छन्। ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय यमले आफू साधनामा रम्न मन पराउने र संगीतलाई जीवनको मुख्य साधना बनाएको बताए।
यस्तै संगीतकार शंकर थापा ‘स्माइल’ ले गायक यम बरालको गायकीको प्रशंसा गीतमा स्वर र संगीतको अद्भूत तालमेल रहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई मनपर्ने आवाज मध्येको एक यम बरालको भएको बताए। श्रीमतीलाई गुमाएपछि भावुक हुने गरेको भन्दै उनले बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए।
संगीतकार दिपक जंगमले सार्वजनिक गीतका विभिन्न आयामहरूबारे चर्चा गरे।
पत्रकार ऋषी धमलाले पनि यम बरालको सांगीतिक योगदानको चर्चा गरेका थिए। धमलाले बरालले इलामलाई गीतसंगीतबाट चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

कलाकार तथा फिल्म निर्देशक दिपाश्री निरौलाले यम बरालको गायकीको तारिफ गरेकी थिइन्। सार्वजनिक भएका भिडिओहरु पनि आफूलाई राम्रो लागेको भन्दै उनले यम बराल आफ्नो मनपर्ने गायक भएको बताइन्।