गायन रियालिटी शो 'नेपाल आइडल' को सफल यात्रापछि अब 'नेपाल आइडल जुनियर' दर्शकमाझ आउने भएको छ।
यसको पहिलो संस्करण आगामी अप्रिलको पहिलो हप्तादेखि एपीवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजकले जनाएको छ।
हाल 'नेपाल आइडल जुनियर' का लागि डिजिटल अडिसन सञ्चालन भइरहेको छ। डिजिटल अडिसनबाट छनोट भएका प्रतिभाहरूलाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइने जनाइएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ। नेपाल आइडलले नेपाली संगीत क्षेत्रमा उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गरिसकेको उल्लेख गर्दै आयोजकले सोही सफलतालाई निरन्तरता दिँदै 'नेपाल आइडल जुनियर' मार्फत बालप्रतिभालाई पनि राष्ट्रिय मञ्च प्रदान गर्ने लक्ष्य राखिएको जनाएको छ।
यस सिजनको निर्णायक मण्डलमा सुगम पोखरेल, सुवानी मोक्तान र अस्मिता अधिकारी रहनेछन्। कार्यक्रमका प्रस्तोताका रूपमा डा. शरिसा श्रेष्ठ र गायक महेश काफ्ले रहनेछन्। ट्यालेन्ट हेड तथा म्युजिक डिरेक्टरका रूपमा मीन गुरुङ र निर्देशकका रूपमा एलेन श्रेष्ठ रहनेछन्।
'नेपाल आइडल' ले सन् २०१७ मा यात्रा सुरु गरेको थियो। हालसम्मका विजेताहरूमा बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर, करण परियार र गंगा सोनम रहेका छन्।
'नेपाल आइडल जुनियर' ले पनि नयाँ स्वर, नयाँ ऊर्जा र नयाँ पुस्ताका प्रतिभासहित दर्शकमाझ फरक पहिचान बनाउने विश्वास आयोजकले लिएको छ।