सांगीतिक रियालिटी शो 'द भ्वाइस अफ नेपाल'को आठौं सिजनका लागि चार जना कोचको नाम पक्का भएको छ।
प्रमोद खरेल, मिलन नेवार, एकदेव लिम्बु र नरेन लिम्बु सिजन ८ मा कोचका रूपमा रहने भएका हुन्।
यीमध्ये एकदेव लिम्बु र नरेन लिम्बुको नाम टिमले औपचारिक घोषणा गरिसकेको छ। शोले प्रोमो सार्वजनिक गर्दै दुवैलाई नयाँ कोचका रूपमा प्रस्तुत गरेको हो।
बाँकी दुई कोच प्रमोद खरेल र मिलन नेवार रहने स्रोतले जनाएको छ। यद्यपि, उनीहरूको सहभागिताबारे टिमले औपचारिक घोषणा गर्न बाँकी छ।
अघिल्लो सिजनमा प्रमोद खरेल, राजु लामा, खेम सेञ्चुरी र मेलिना राई कोच थिए। तीमध्ये प्रमोदले मात्रै सिजन ८ मा निरन्तरता पाएका छन्। राजु, खेम र मेलिना यसपटक कोचका रूपमा रहने छैनन्।
मिलन यसअघि पनि 'द भ्वाइस अफ नेपाल'मा कोचको भूमिकामा रहिसकेकी छन्। उनी 'द भ्वाइस किड्स'को पछिल्लो सिजनमा समेत कोच थिइन्।
एकदेव र नरेनको आगमनसँगै सिजन ८ मा कोचको प्यानलमा दुई नयाँ अनुहार थपिएका छन्। स्रोतका अनुसार प्रमोद, मिलन, एकदेव र नरेन गरी चारै जना सिजन ८ का कोचका रूपमा रहनेछन्।
'द भ्वाइस अफ नेपाल' सिजन ८ को ब्लाइन्ड अडिसनको छायांकन अन्तिम चरणमा पुगेको जनाइएको छ।